Sunday, September 28सत्यम खबर
Shadow

डुडुवामा निःशुल्क स्वास्थ्य शिविरबाट करीब चार सय बढी लाभान्वित

नेपालगन्ज, ६ असोज – गोपाल नीना फाउण्डेशनद्वारा डुडुवा गाउँ पालिका वडा नं २ नौरीगौढीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० जना लाभान्वित भएका छन् । शनिवार सम्पन्न सो शिविरमा २ सय ९५ जना महिला र १ सय ५३ जना पुरुषहरु स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट सर्वसाधारण नागरिकहरु लाभान्वित भएका हुन् ।

उक्त शिविरमा फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले दिनु भएको जानकारी अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा भाइरल ज्वरो, छाला सम्बन्धि, पाठेघर, स्त्री रोग, पेट, छाला रोग लगायतका विभिन्न प्रकारका रोगका ओैषधी सहित स्वास्थ्य सेवा लिएका थिए ।

फाउण्डेसनका कार्यालय प्रमुख तथा कार्यक्रम संयोजक दिलिप गिरिले दिनु भएको जानकारी अनुसार उक्त निःशुल्क स्वास्थ्य शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्रेष्ठ, डा. तृप्तीपाल रमण, डा. रोमन किदवाई, डा. नैमुद्दीन अन्सारी, डा. मेघा मण्डल, डा. डा. सलमान निजाम, डा. चन्दन सिंह, डा. सचिन शाह, यामिनी पन्त लगायतका विशेषज्ञ चिकित्सकहरुद्वारा सर्वसाधारण गाउँलेहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य शिविरका लागि नेपाल औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जले आवश्यक औषधिहरु सहयोग गरेको थियो भने नेपालगन्ज शाखाका अध्यक्ष डा. दिगम्बर पाण्डे र सञ्जीवनी मेडिकल कलेज अफ मेडिकल साइन्सका निर्देशक डा. रोमन किदवाईले विशेष सहयोग गर्नु भएको कार्यक्रम संयोजक दिलिप गिरिले बताउनु भयो ।

त्यसैगरि शिविरको लागि अन्नपूर्ण ग्यास्टूो केयर हस्पिटल, गणेशमान चोक डूग्स स्टोर, सेभेन क्याफे, एनएमएसआरए लगायतले सहकार्य गरेको थियो ।

फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्रेष्ठले स्वस्थ समाजको निर्माण गर्ने हाम्रो अभियानमा भएको यस किसिमको सहकार्यहरू स्वास्थ्य, शिक्षा, वातावरण, सामाजिक, नियमित रक्तदान कार्यक्रम जस्ता उत्तरदायित्वमा निरन्तर प्रतिबद्ध रहँदै आएको फाउण्डेसनका लागि निकै प्रेरणादायी भएको बताउनु भयो । उहाँले भन्नुभयो– गोपाल नीना फाउण्डेसन नेपाल आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछ ।

सो शिविरमा फाउण्डेशनका कर्मचारीहरु रिसर्च अफिसरद्वय अनुप आर्य, सुश्री प्रतिभा पौडेल, सरोज चौधरी, युवराज सिंह, महिपत चौधरी, नगेन्द्र शाही लगायतको सक्रिय सहयोग रहेको थियो ।

उल्लेखनीय छ, २०७९ फाल्गुनमा स्थापित उक्त फाउण्डेसनले यसअघि स्थानीय जनमत अद्र्ध साप्ताहिक, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके, हेल्थ याद आयो (मोवाइल हेल्थएप)को समन्वय र सहकार्यमा वृहद् रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, नील सागर आश्रममा स्वास्थ्य परीक्षण, आश्रितहरुका लागि विहानको खाना र बालबालिकालाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण, वृक्षारोपण कार्यक्रम, मानव सेवा आश्रममा आश्रितहरुका लागि भोजन सेवा सहित न्यानो सिरक वितरण लगायत विभिन्न सामाजिक क्रियाकलाप तथा मानव कल्याणकारी, स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपालप्रसाद श्रेष्ठ र प्रसिद्ध वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको नेतृत्वमा फाउण्डेशन स्थापना गर्नु भएको थियो । नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सक श्रेष्ठद्वय २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *