
नेपालगन्ज, २२ भदौं – खजुरा सैनिकको इन्टिग्रेटेड एकेडेमीले बाँके जिल्ला स्तरीय यु–१४ छात्रछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
नेपालगन्ज रंगशालामा भएको छात्र तर्फको खेलमा इन्टिग्रेटेड एकेडेमीले नेपालगन्जको वेस्टजोन माविलाई ४–० ले पराजित गरेको छ । खेलमा कप्तान निशान थापाले २ गोल, समर गुरुङ र निश्चल सुवालले १–१ गोल गर्नु भयो ।
कप्तान निशानले २१औं र २४औं मिनेटमा गोल गर्नु भएको थियो भने समरले ५ मिनेट र निश्चलले २०औं मिनेटमा गोल गरेर आफनो टिमलाई सहज जित दिलाउनु भयो । यसैगरी छात्र तर्फको खेलमा नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन बिचको खेल प्राविधिक कारणले पहिलो हाफ सकिएपछि रोकिएको थियो । पहिलो हाफमा सिद्धार्थले १–० ले अग्रता लिएको छ ।
सिद्धार्थ र नेपालगन्ज मोडेल एकेडेमीबिचको दोस्रो हाफ आइतबार खेलाउने आयोजकले जनाएको छ ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा छात्र तर्फ बाँकेका १७ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टिमले लुम्बिनी प्रदेश स्तरीय एन्फा यु(१४ फुटबल प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्नेछ ।
शनिबार एक समारोहका बिच जयमंगल सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक संजय अग्रवालले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै अग्रवालले फुटबलको विकासको निम्ति फुटबल परिवारसँग सहकार्य गरेर अगाडी बढिरहेको बताउनु भयो । जय मंगलम सिमेन्ट पहिलो नेपालगन्ज गोल्ड कप फुटबलको मुख्य प्रायोजक हो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य जनक केसी, लुम्बिनी प्रदेश फुटबल संघका निर्वतमान उपाध्यक्ष सुर्यमणी अधिकारी, महिला फुटबल समिति बाँके एवम् प्रतियोगिता संयोजक नितु चन्द शाह, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतम लगायतको सहभागिता रहेको थियो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले फुटबलको विकासमा जुनियरको फुटबल प्रतियोगिताले स्तर विकासमा महत्वपुर्ण सहयोग गर्नुे बताउनु भयो । लुम्बिनी प्रदेश फुटबल संघका निवर्तमान उपाध्यक्ष अधिकारीले फुटबलको विकासमा सहकार्य गरेर काम गर्ने बताउनु भयो । कार्यक्रममा प्रतियोगिता संयोजक नितु चन्दले विद्यालय स्तरबाट खेलाडीलाई अवसर दिने उद्देश्यले प्रतियोगिता गरिएको बताउनु भयो ।
नेपालगन्ज रंगशालामा प्रतियोगिता भदौं २१ देखि २७ गते सम्म चल्नेछ । अखिल नेपाल फुटबल संघको सहयोगमा सुरु भएको प्रतियोगिता स्वः खेलाडी अनुपम घलान, आदित्य बलम्पाखी, बिकल रेग्मी, दिवस बानिया, प्रियान्स आचार्य र साइमन योन्जनको स्मृतिमा आयोजना गरिएको हो । गत वर्ष असोज महिनामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा गएको पहिरोमा परी एन्फा एकेडेमीमा रहेका ६ जना खेलाडीको मृत्यु भएको थियो ।
प्रतियोगिताको छात्र तर्फ समुह ‘ए’ मा वेस्टजोन मावि, इन्टूीग्रेटेड, नेपालगन्ज मोडेल एकेडेमी, सिद्धार्थ विद्यासदन, मैटहवा मावि सैनिक, ग्रीनपिस मावि, मनकामना मावि, ब्राइटल्याण्ड स्कुल रहेका छन् । समुह ‘बी’ मा सेन्ट थोमस, युनाइटेड एजुकेशनल, दिप ज्योती, होलिल्याण्ड, नेपालगन्ज सेन्ट जेभियर्स, बालज्योती, गुराँस चाल्डहुड, कोहलपुर बागेश्वरी, शिखा एकेडेमी रहेका छन् ।