
वासिङ्टन, ४ मंसिर – कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या बुधबार २ लाख ५० हजार नाघेको रोयटर्सले जनाएको छ ।
संक्रमणको तेश्रो चरण सुरू भएसँगै अमेरिकामा पछिल्लो समय संक्रमित संख्या बढिरहेको र त्यसले त्यहाँको स्वास्थ्य स्वास्थ्य सेवा प्रणालीमा दबाब बनाएको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

तेश्रो लहरका कारण अस्पतालमा संक्रमित भर्ना हुने दर पनि बढेको छ । बुधबारमात्रै त्यहाँ ७८ हजार ६ सय ३० जना संक्रमित फेला परेका छन् । यो संख्या महामारी सुरू भएयता एकै दिन भेटिएको सर्वाधिक ठूलो संख्या हो ।
अमेरिकी राज्यका गभर्नर तथा स्थानीय अधिकारीहरूले पछिल्ला दिनमा संक्रमण रोकथामका लागि वीँन्न उपयाहरू अपनाइरहेका छन् ।
पछिल्ला सात दिनमा प्रतिदिन १ हजार १ सय ७६ को औषत संख्यामा मानिसहरूले संक्रमणबाट ज्यान गुमाइरहेको पनि रोयटर्सले जनाएको छ । यो संख्या संक्रमण उच्च रहेका ब्राजिल र भारतको संयूक्त संख्या भन्दा बढी हुन आउँछ ।
अमेरिकामा हालसम्म १ करोड १४ लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ । अमेरिका संक्रमित संख्या १० लाख नाघ्ने विश्वको एकमात्र मुलुक हो । (एजेन्सी)