
नेपालगन्ज, ४ मंसिर – बाँकेमा विहिबार नै थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका अर्का एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बिहिबार बिहान नेपालगन्जमा मृत्यु भएको छ ।
तुलसीपुर उपनहानगरपालिका वडा नम्बर ६, बरुवागाउँ दाङका ८१ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा बिहिबार बिहान ३ः३० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।

कोरोनाको आशंकामा कार्तिक २८ गते स्वाव संकलन गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको र सोही दिन आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपस्चात उनलाई उपचारका लागि २८ गते साँझ भेरी अस्पताल नेपालगन्जमा ल्याई भर्ना गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।
अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, सिप्याप, एन्टिबायोटिक्स लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि बिहिबार बिहान ३ः३० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको कोभिड फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो ।
यो सँगै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४२ पुगेको छ । यसअघि बाँके जिल्लाका ३७ जना कोरोना संक्रमितको ज्यान गैसकेको छ । जिल्ला भित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।
आज बिहान मात्रै दाङ तुलसीपुर उपनहानगरपालिका वडा नम्बर ६ कै ५६ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो ।