
नेपालगन्ज, ३ मंसिर – बुधबार बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुधबार बिहान कोहलपुरमा मृत्यु भएको छ ।
घोराही उपनहानगरपालिका वडा नम्बर १७, दाङका ७९ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बुधबार बिहान २ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।

कोरोनाको आशंकामा कार्तिक १९ गते स्वाव संकलन गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको र २१ गते आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भए पश्चात उनी होम आइसोलेसनमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रद्वारा जारी नोटमा जनाइएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंसिर २ गते राती १२ः३० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।
अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, फेसमास्क, एन्टिबायोटिक्स, भेन्टिलेटर लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि बुधबार बिहान २ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको फोकल कोभिड पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।
यो सहित जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४० पुगेको छ । यसअघि बाँके जिल्लाका ३७ जना कोरोना संक्रमितको ज्यान गैसकेको छ । जिल्ला भित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ ।
