
नेपालगन्ज १३ श्रावण – नेपाली कांग्रेसका सह-महामन्त्री तथा प्रतिनिधी सभा सदस्य किशोर सिंह राठौरले राष्ट्रिय लुटमा जनसहभागिता रहेको पाइएको बताएकाछन् ।
बाँकेको खजुरामा मङ्गलबार आयोजित ‘सगरमाथा वृक्षारोपन महाअभियान कार्यक्रम’लाई सम्बोधन गर्दै संघीय सांसद राठौरले यस्तो बताएका हुन् ।
देशमा राजनीतिक दल, नेता तथा कार्यकर्ता देखी सबै आ-आफ्ना ठांउमा जिम्मेवार हुनुपर्ने बताउँदै संघीय सांसद राठौरले भने–‘राष्ट्रिय लुटमा जनसहभागिता पाइयो, जसले जति पायो त्यती लुटिरहेकाछन् ।’
चारैतिर भ्रष्टाचार मौलाएको, बेथिति बढ्दै जाँदा पनि जनताले मौनता साँधेर बस्दा राष्ट्रिय लुटमा जनताको सहभागिता भएको पुष्टि गरेको उनको टिप्पणी छ ।
बजेट तथा कार्यक्रम छनोट गर्दा प्राथमिकताका आधारमा गरिनुपर्नेमा त्यसो नभएको उनको तर्क छ । कांग्रेस–एमालेको गठबन्धन सरकार भएपनि जनताको आवश्यकता, माग र मर्म बमोजिम काम नभएको उनले बताए ।

बजेट वितरणमा एकरुपता नभएको भन्दै संघीय सांसद राठौरले भने–‘एउटा सांसदले हालेको योजना र बजेट अर्थमन्त्रीले बजेट छैन भनेर काटिदिन्छन् । तर, त्यही अर्थमन्त्रीले आफ्नो जिल्लामा ८ अर्बको बजेट विनियोजित गर्छन् । यो नाङ्गो नाच भएन र ?’
वर्तमान देशको यो अवस्था सुधार गर्न जनता जाग्नुपर्ने, जनतामा चेतको विकास हुनुपर्नेमा त्यसो नभएको उनले बताए । सबै समस्याको एउटैलाई दोष दिएर समाधान नहुने भन्दै उनले भने –‘यो सबै हुनुमा गैरजिम्मेवार रुपमा मत हाल्नुको परिणाम हो ।’

यहाँ राजनीतिक दल, नेता, कार्यकर्ता, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र जनतामा अनुशासन छैन, नैतिकता र इमान्दारिता छैन जसले गर्दा उनीहरुले आफ्नो जिम्मेवारी सही ढंगबाट निर्वाह नगरेको राठौरको ठम्याईछ ।
आफू बाँके र बर्दियाको नेता भएर यसक्षेत्रको विकासका लागि संघर्ष गरिरहेको बताउँदै सांसद राठौरले बाँके क्षेत्र नम्बर–३ मा २८ वर्षपछि कांग्रेसले जितेपछि मात्र यसक्षेत्रका जनताले देखिने गरि विकास र परिर्वतनको महसुस गर्न पाएकाछन् ।

मैले चुनाव लड्दै गर्दा रातारात परिर्वतन गर्छु भनेर बाचा नगरेको स्मरण गराउँदै उनले रहरमा विकासका कुरा गरेर केही नहुने भन्दै कांग्रेसले यसक्षेत्रमा जित्नुअघिको समयमा के भएको थियो र अहिलेको अवस्था के छ भनेर जनताले मूल्यांकन गर्नुपर्ने राय राखे ।
बाँकेलाई स्वास्थ्यको हब बनाउने गरि आफू अघि बढेको बताए । उनले बाँकेको भेरी अस्पताल, फत्तेबाल आँखा अस्पताल र खजुराको क्यान्सर अस्पतालको स्तरउन्नती, भौतिक तथा कर्मचारी व्यवस्थापन लगायतको क्षेत्रमा अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
खजुरा क्यान्सर अस्पताल सञ्चालनमा आएसँगै उपचारका लागि भरतपुर, काठमाण्डौ र भारत धाउनुपर्ने बाध्यता हटेको छ । पश्चिम नेपालका तीन प्रदेशका जनता लाभावन्तित भएको बताउँदै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४० जिल्लाका नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि बाँकेलाई स्वास्थ्यको हब बनाउन उनले सबै राजनीतिक दल, सम्बद्ध सरोकारवालालाई समेत आह्वान गरे ।
‘म केन्द्रिय नेता हुँ, मैले यहाँको सबै काम गर्न अगाडी आउनै पर्छ भन्ने छैन । त्यो यहाँकाले गर्ने हो । मलाई भन्नुहोस् मैले कहाँ कुन बेला सहयोग गर्नुपर्छ म तयार छु । बाँकेको विकास मेरो जिम्मेवारी हो ।’ उनले भने ।
क्यान्सर जस्तो जटिल र खर्चालु रोगसँग लड्न सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बनेकोमा खजुरा क्षेत्रका नागरिकलाई बधाई दिदैँ यसक्षेत्रमा केही भएन भनेर भन्नु भन्दा के गर्नुपर्ने हो र के गरियो त्यो महत्वपूर्ण रहेको बताए ।
वृक्षारोपणअघि भएको उद्घाटन समारोहमा प्रखर मिसन नेपालका निर्वतमान अध्यक्ष किस्मत कुमार कक्षपती, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष समर बहादुर खत्री लगायतले अस्पतालले प्रदान गरेको गुणस्तरीय स्वास्थ्य सेवाका चर्चा गरेका थिए । उनीहरुले अस्पतालले भौतिक संरचना, कर्मचारी तथा प्रविधिको समस्याबाट गुज्रिरहेकोले यी समस्या समाधान गर्नतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रखर मिसन नेपालका अध्यक्ष महेन्द्र मल्लको सभाध्यक्षतामा भएको वृक्षारोपाण कार्यक्रममा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर ज्वलनत पौडेलले अस्पतालको वस्तुस्थितीका बारेमा जानकारी गराएका थिए । भने प्रखर मिसनका वरिष्ठ उपाध्यक्ष सुदीप पौडेलले स्वागत मन्तब्य राखेका सचिव विवेक लामिछानेले जानकारी दिए ।
सोक्रममा प्रदेश सांसद सुशीला नेपाली बादी, भेरी अस्प्ताल विकास समितिका अध्यक्ष विरेन्द्र बहदुर शाह, प्रखर मिसनका संस्थापक तथा पूर्व सदस्य एवम पदाधिकारी, विभिन्न राजनैतिक दलका नेता, विभिन्न वडाका जनप्रतिनिधी, क्यान्सर अस्पतालका चिकित्सक, कर्मचारी स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।
प्रखर मिसन नेपाल खजुराको आयोजना तथा सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालद्वारा गरिएको गरिएको वृक्षारोपणमा विभिन्न जातका बोटविरुवा रोपिएको थियो । स्वास्थ्य मन्त्रालयले साउन १५ गतेसम्म देशभरी सगरमाथा वृक्षारोपन महाअभियान कार्यक्रम सञ्चालन गरेको छ । त्यही अनुरुप उक्त वृक्षारोपण गरिएको हो ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस
