Thursday, July 10सत्यम खबर
Shadow

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

नेपालगन्ज, १० असार – गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यहि ८ असार १२ देखि १४ गतेसम्म पोखरामा हुने ‘गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता’ मा सहभागी हुन लुम्बिनी प्रदेशको महिला टोली आज पोखरातर्फ प्रस्थान गरेको छ ।
१३ सदस्यीय टोलीलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बाँसगढी बर्दियामा आयोजित बिदाई कार्यक्रममार्फत औपचारिक रूपमा बिदाई गरियो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले प्रेरणादायी मन्तव्य दिएका थिए। लुम्बिनी प्रदेश ह्याण्डबल संघका अध्यक्ष जयन्तकुमार शर्माले टोलीको मेहनत, समर्पण र अनुशासनको प्रशंसा गर्दै महिला खेलाडीहरूले प्रदेशको गौरव बढाउने काम गर्दै आएको बताउनुभयो ।

उहाँले गण्डकी कपमा समेत उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीको झन्डा फर्फराउनेमा आफू विश्वस्त रहेको जीकिर गर्दै यो प्रतियोगिता केवल प्रतियोगिता मात्र नभई नेतृत्व र प्रेरणाको अवसर पनि भएको उल्लेख गर्नुभयो। उहाँले टोलीलाई रु. ३,००० खाजाका लागि सहयोग गर्दै सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । त्यस्तै लुम्बिनी प्रदेश ह्याण्डबल संघका अध्यक्ष खगेन्द्र चन्दले संघ सधैं खेलाडीहरूको साथमा रहने र आगामी दिनमा थप अवसर सृजना गरिने प्रतिबद्धता जनाउनुभयो ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले खेलकुद क्षेत्रले महिला सशक्तिकरणमा पु¥याउँदै आएको भूमिकाको उल्लेख गर्दै खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई नेतृत्व, अनुशासन र सशक्तिकरणको माध्यम पनि भएको बताउनुभयो । उहाँले टोलीलाई नगद २ हजार रुपैया सहयोग गर्नुभयो ।

खेलप्रेमी समाजसेवी सोनु सिद्दिकीले खेलाडीहरूप्रति सहानुभूति र उत्साह व्यक्त गर्दै १३ वटा खेलपोशाक सहयोग गर्नुभयो। उहाँले महिला खेलाडीहरूको उत्साह र मनोबल बढाउन आफू सधैं तयार रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी खेलाडी शर्मिला केसीले सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई आभार प्रकट गर्दै सबैबाट पाएको समर्थन र उत्साहले खेलाडीहरुको मनोबल उच्च बनाएको बताउनुभयो । गण्डकी कपमा राम्रो प्रदर्शन गरेर सबको विश्वास जित्ने उहाँको भनाई थियो । लुम्बिनी प्रदेशको टोलीले गण्डकी कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमले खेलाडीहरूमा उत्साह, मनोबल र प्रदेशप्रतिको जिम्मेवारीको भावना थप मजबुत बनाएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *