
डुडुवा, २५ जेष्ठ – डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभाकक्ष निर्माण गर्ने भएको भएको छ । कार्यालयमा सभाहलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्ताब अनुसार गाउँपालिकाले सभाहल निर्माण गरिदिने भएको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नेपालगन्ज–४ सञ्चारग्राम (बसपार्क) स्थित महासंघको कार्यालय भवनको प्राविधिकसहित निरीक्षण गर्नु भएको छ । उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, इन्जिनियर सुरेन्द्र बर्मासहित महासंघ कार्यालय पुग्नु भएका अध्यक्ष चौधरीले महासंघको प्रस्ताब अनुसार सभाकक्ष निर्माण गरिने बताउनु भयो ।
उहाँले भवन निर्माणको बजेटसहितको स्टिमेट गरेर तत्काल काम सुरु गरिने बताउनु भयो । अध्यक्ष चौधरीले महासंघ भनेको जिल्लाका सम्पुर्ण पत्रकारहरुको साझा घर भएकाले बैठक, छलफल लगायतका कार्यक्रम गर्न सहजताका लागि भवन (सभाकक्ष) निर्माण गर्न लागेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महासंघको प्रस्तावलाई स्वीकार गरेर डुडुवा गाउँपालिकाले सभाहल निर्माणमा सहयोग गर्ने भएपछि आफूहरु उत्साहित भएको बताउनु भयो । गिरीले उक्त सभाहलको नाम ‘डुडुवा सभाहल’ राखिने बताउनु भयो । आफ्नो नेतृत्वमा महासंघमा नयाँ टिम आएपछि डुडुवा गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको भन्दै गिरीले स्थानीय सरकारसंगको विश्वास र सहकार्यलाई यसले मजबुत बनाउने बताउनुभयो ।
डुडुवा गाउँपालिकाले यसअघि महासंघ बाँके शाखाले गत फागुनमा आयोजना गरेको सद्भाव वनभोज कार्यक्रममा पनि सहयोग गरेको थियो ।
निरीक्षणका क्रममा अध्यक्ष चौधरीले नेपाल पत्रकार महासंघ बाँके शाखा कार्य समितिसंग छलफल पनि गर्नु भएको थियो । त्यस क्रममा शाखा अध्यक्ष गिरीले अध्यक्ष चौधरी, उपाध्यक्ष बानो र प्रमुख प्रशासकीय अधिकृतलाई महासंघले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो पनि प्रदान गर्नु भएको थियो ।