
काठमाडौँ, १७ बैशाख – नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरी बुधबार दिउँसो १ बजेतिर पक्राउ परेका छन्।
उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए।
उनको आममाफीविरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले रेशमलाई तत्काल पक्राउ गरी थुना राख्न आदेश दिएकाले उनलाई पक्राउ गरिएको अधिकारीले बताए।
‘सर्वोच्च अदालतले तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएकाले पक्राउ गरेका हौँ’, उनले भने।
२०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषि ठहर भएका चौधरी २०८० सालमा गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए।
आममाफीविरुद्ध सारदा बोहोरा कठायतले रिट दर्ता गराएकी थिइन्। उक्त रिटको सुनाइ गर्दै पक्राउ गरेर थुनामा पठाउन अदालतले आदेश दिएको प्रहरी प्रमुख अधिकारीले बताए।