
नेपालगन्ज, २६ कार्तिक – बाँके प्रहरीले दुई जनालाई ठुलो परिमाणमा अफिम पक्राउ गरेको जनाएको छ ।

मंगलबार बेलुका ५ बजेको समयमा कोहलपुर नगरपालिका २ बसपार्कको भेरी गेष्ट हाउसबाट ७ किलो अफिमसहित जाजरकोट नलगाढ नगरपालिका–९ का ४५ वर्षिय जयबहादुर सिंह र सोही ठाँउका ३३ वर्षिय बिरेन्द्रमान सिंह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
लागु औषध अफिमको कारोबार भईरहेको सूचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो, शाखा कार्यालय नेपालगन्ज तथा जिल्ला कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भेरी गेष्ट हाउसको १०५ नम्बर कोठामा छापा मारेको थियो ।

सोही कोठामा रहेका दुईजनालाई खानतलासी गर्ने क्रममा उनीहरुको साथमा रहेको कालो रंगको झोला भित्र ७ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ७ किलो अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।
