Thursday, May 28सत्यम खबर
Shadow

महोत्तरीमा प्रेस काउन्सिलको अन्तरक्रिया सम्पन्न

काठमाडौँ, २६ कार्तिक – प्रेस काउन्सिल नेपालले बुधबार महोत्तरीमा पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा पारेको प्रभावबारे अन्तरक्रिया सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघ महोत्तरीको संयोजनमा भएको कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सदस्य नवलकिशोर यादवले पत्रकारमा अध्ययन प्रवृत्ति हराउँदा पत्रकारितामा नै असर परेको बताउनुभयो ।


उहाँले पत्रकारलाई परेको समस्या समाधानका लागि काउन्सिलले सधैँ भूमिका निभाउँदै आएको भन्दै कोभिडका कारण प्रभावित पत्रकार मिडियालाई सहयोग गर्न सम्बन्धित मन्त्रालय र सरकारसँग पटक पटक आग्रह गरिएको बताउनुभयो ।
पत्रपत्रिका वर्गीकरणका सम्बन्धमा पत्रिकाहरू हुबहुमा पर्ने समस्या जटिल देखिएको बताउँदै सदस्य यादवले पत्रकार र मिडिया सञ्चालक जिम्मेवार नभएको गुनासो गर्नुभयो । पत्रकार आचारसंहिता र वर्गीकरणको मापदण्ड भित्र रहेर पत्रपत्रिका प्रकाशन गर्न उहाँको सुझाव थियो । कोभिडका समयमा समाचार ब्रेडिङको होडबाजीले गलत सूचना सम्प्रेषण भएको भन्दै संयमित हुन आग्रह गर्नुभयो ।


कार्यक्रममा प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले काउन्सिलको कामकारबाही बारे जानकारी गराउनु भएको थियो । उहाँले पत्रकार आचारसंहिता, प्रेस स्वतन्त्रता, अभिलेख प्रणाली, कोभिडका समयमा सञ्चारमाध्यममा आएका समाचार सामग्रीका विषयमा उठेका सवालका बारेमा प्रष्ट पार्नुभएको थियो ।
उहाँले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्दा पनि मर्यादित हुन र स्रोत खुलाउन आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी पत्रकारहरूले कोभिडका समयमा रिपोर्टिङ गर्दा झेल्नुपरेका समस्या सुनाएका थिए ।
पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नगेन्द्रकुमार कर्णको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव महेशकुमार दासले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *