Monday, December 8सत्यम खबर
Shadow

रवीन्द्र मिश्र, धवल शम्शेरसहित ११ जनाविरूद्ध राजद्रोहको मुद्दा

४१ जनालाई बनाइयो प्रतिवादी, १० दिन म्याद थप गर्न माग
काठमाडौं, १७ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित ११ जनालाई राज्य विरूद्धको कसुरमा म्याद थप गरिने भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले मिश्र र राणासहित ११ जनालाई राज्य विरूद्धको कसुर तथा संगठित अपराधमा अनुसन्धान गर्न लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा १० दिनेको म्याद माग गरेको सरकारी वकिल प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले सेतोपाटीलाई जानकारी दिए। बाँकी ३० जनाविरूद्ध छुट्टै मुद्दामा अनुसन्धान गर्ने तयारी छ।

चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शनपछि तोडफोड, आगजनी, लुटपाट भएको थियो। प्रसाईंको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले समर्थन गरेको थियो भने राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएको थियो।

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र सुवेदी नेतृत्वको समितिको सदस्य सचिव र महामन्त्री राणा आन्दोलन परिचालन समितिमा थिए। प्रसाईंलाई भने ‘जनकमान्डर’ तोकिएको थियो। प्रदर्शनमा मिश्र र राणा सहभागी रहेको र उनीहरूले प्रदर्शनकारीलाई भड्काएको आरोप छ। मिश्र र राणालाई हतकडी लगाएर म्याद थपका लागि काठमाडौं अदालत उपस्थित गराइएको छ।

शुक्रबारको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार छन्। आइतबार उनले फेसबुकमा भिडिओ राख्दै आफू काठमाडौंकै कुनै मन्दिरमा बसेको उल्लेख गरेका थिए। कूल ४१ जनाविरूद्ध प्रहरीले आपराधिक उपद्रवमा अनुसन्धान गर्ने भएको छ। उनीहरूमाथि प्रहरीले संगठित अपराधमा पनि अनुसन्धान गर्ने भएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ।

चैत १५ गते तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए। काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बेग्लाबेग्लै ८ वटा पत्र काटेर ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ।

प्रदर्शनस्थलमा महानगरका विभिन्न संरचना तोडफोड र फोहोर पुर्‍याएको भन्दै महानगरले जरिवाना तोकेको हो। उक्त जरिवानाको पत्र निर्मल निवासमा बुझाउन आइतबार नगर प्रहरी पुगे पनि पत्र बुझ्न नमानेपछि फर्केको थियो। हुलाकमार्फत उक्त पत्र निर्मल निवास पठाइएको महानगरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *