नेपालगन्ज २३ कार्तिक – बाँकेको नेपालगन्जमा छैठौं म्याराथन प्रतियोगिता हुने भएको छ । आठ महिना भन्दा लामो समयदेखि कोरोना भाइरस कोभिड–१९ का कारण सबै क्षेत्रलाई असर परेको छ । त्यसमा खेलकुद मात्रै अछुतो रहने कुरै भएन । कोराना संक्रमणलाई न्यूनिकरण गर्न सरकारले सुरुमा लकडाउन त्यसपछि निषेधाज्ञा गरेको थियो । संक्रमण अहिले पनि कम भइनसकेकोले देश भित्रको खेलकुद गतिविधि सुरु हुन सकेको छैन । यस्तो पृष्ठभूमिका वावजुद क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा नेपालगन्जको पहिचानका रुपमा स्थापित नेपालगन्ज म्याराथनको छैठौं संस्करण आयोजना गर्न लागेको हो ।
मंसिर ६ गते शनिबार छैठौं धारा नेपालगन्ज म्याराथन आयोजना हुने आज आईतवार पत्रकार सम्मेलनमा आयोजक टिमका संयोजक टिएस ठकुरीले जानकारी गराउनुभयो । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना हुने गरेको छ ।
नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको छ । त्यस्तै अर्कोतर्फ नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ । यसै अनुसार हामीले विगत ५ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन गर्दै आएका छौ संयोजक ठकुरीले भन्नुभयो ।
नेपालगन्ज म्याराथनले कोहलपुर र नेपालगन्जलाई जोड्ने एउटा शसक्त माध्यम बनेको छ भन्ने हाम्रो ठम्याई हो । नेपालगन्जलाई महानगर बनाउने अवधारणाको चर्चा हुँदा सरकारले नेपालगन्ज र कोहलपुर शहर जोड्ने नीति अघि सारेको छ । यो हाम्रो पहिल्यैदेखिको सपना हो । सद्भावको शहर नेपालगन्जलाई अरु शहरसँग जोड्ने मात्रै होइन, विश्वमा चिनाउने हाम्रो अभियान जारी रहेको छ ।
विश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाँउ विशेषको पहिचान स्थापित गर्छ, विभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । तर, यसपटक मानिसको जमघटमा कोरानाका कारण बढी ध्यान दिने र स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउनुपर्ने छ उहाँले भन्नुभयो । कोरानाका कारण उत्पन्न परिस्थितिका कारण दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम गर्न यहि पत्रकार सम्मेलन मार्फत आग्रह गरिएको संयोजक ठकुरीले भन्नुभयो । स्वास्थ्य मापदण्डलाई अपनाएर खेलकुद गतिविधि सुरु गर्न सकिन्छ भन्ने देश व्यापी सन्देश दिनका लागि पनि नेपालगन्ज म्याराथन सफल हुनेछ भन्ने विश्वास हामीले लिएका छौं उहाँले भन्नुभयो ।