Thursday, March 13सत्यम खबर
Shadow

लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबलको मिति स¥यो, अब प्रतियोगिता बैशाखमा हुने

नेपालगन्ज, १९ फागुन – लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना मिति सरेको छ । फागुन १९ देखि २९ गतेसम्म नेपालगन्ज रंगशालामा हुने तय भएको प्रतियोगिता अब आगामी वैशाख ५ देखि १५ गतेसम्म हुने भएको छ । आयोजक अन्तरालले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नु परेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘प्राविधिक कारणले प्रतियोगिताको आयोजना मिति केही पछी सरेको छ । अब नयाँ मितिमा आयोजना हुने प्रतियोगितालाई हामी भव्य बनाउने प्रयास गर्नेछौं । मैदानको स्तर उन्नती र स्थानीय खेलाडीहरुको लागि प्रशिक्षणको लागि केहि समय मिलेको छ । यसले प्रतियोगितालाई अझ स्तरीय र व्यवस्थापनमा पनि राम्रो गर्न सहयोग गर्नेछ ।’

प्रतियोगितामा नेपालका चर्चित क्लबहरु, विभागीय टिम र भारतीय टिमलाई आमन्त्रण गरिएको उहाँले बताउनु भयो । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबलले महिला खेलको स्तरलाई माथि उकास्ने आयोजकले विश्वास लिएको छ ।

प्रतियोगितामा स्थानीय बाँके जिल्लाको टिम सहित ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई लक्षित गरेर बाँके जिल्ला फुटबल संघले खेलाडी छनोट र प्रशिक्षण कार्यक्रमलाई अगाडी बढाइरहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताउनु भयो । बाँकेको महिला फुटबल टिमले धम्बोझी स्थित नेपाल प्रहरीको गुल्ममा प्रशिक्षण सुरु गरेको छ । फुटबल प्रशिक्षक सानु तामाङ र रबिन्द्र श्रेष्ठले स्थानीय खेलाडीलाई प्रशिक्षण गराईरहनु भएको छ ।

यसैगरी नेपालगन्ज रंगशालाको मैदानमा घास उर्माने कार्य पनि भैरहेको छ । प्रतियोगिता अवधि सम्म मैदानलाई पनि राम्रो बन्ने आयोजकले बताएको छ ।
आईतबार भएको पत्रकार सम्मेलनमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, प्रतियोगिताको प्रचार–प्रसार उपसमिति संयोजक निरज गौतम, सचिवालय प्रमुख रमेश मल्ल, समन्वय तथा परिचालन उप–समिति संयोजक तेजबिक्रम शाहले प्रतियोगितालाई ऐतिहासिक बनाउने लक्ष्य सहित काम गरिरहेको बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *