Friday, March 21सत्यम खबर
Shadow

होप, ब्राइटल्याण्ड, मनकामना र सगरमाथाको विजयी सुरुआत

नेपालगन्ज, २७ माघ – होप इन्टरनेशनल, ब्राइटल्यान्ड, मनकामना र सगरमाथा स्कुलले शनिबारदेखी सुरु भएको मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा जित हासिल गरेका छन् ।

नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा होप इन्टरनेशनलले डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभियर्स स्कुललाई २–० ले पराजित गरेको छ । होपको जितमा सुवास मगरले १८ औं मिनेट र सुदिप केसीले ५७औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा विजेता होपका सुवास मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । सुरुआतमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएका सुवास गोल गरेपछि घाइते भएर मैदान छाडनु भएको थियो । सुवासको तर्फ होपका कप्तानलाई बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष टोपेन्द्र खत्रीले पुरस्कृत गर्नु भयो ।

शनिबारको दोस्रो खेलमा ब्राइटल्याण्डले पेनाल्टी सुटआउटमा पशुपति मावि राझाँलाई ४–३ ले हरायो । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । खेलको अन्त्यतिर इन्जुरी समयमा ब्राइटल्याण्डका निशान्त बुढामगरले गोल गर्दै खेल बराबरीमा लग्नु भएको थियो । त्यसअघि पशुपतिका अनि पालले ३५औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो ।

पेनाल्टी सुटआउटमा ब्राइटल्याण्डका अनमोल गुरुङ, निक्सान बुढा, जतिन लामा गुरुङ, सिन्स रावतले गोल गर्नु भएको थियो । पशुपतिका लागि अनिपाल शाही, नितेश पुनमगर र संजित थापाले गोल गर्नु भएको थियो । खेलमा ब्राइटल्याण्डका गोलकिपर पुजन घिमिरेले प्लेयर अफ द म्याचको ट्रफी जित्नु भयो । उहाँलाई एनप्याब्सनका केन्द्रिय सदस्य बामदेव न्यौपानेले पुरस्कृत गर्नु भएको थियो ।

तेस्रो खेलमा मनकामना माविले डिूमल्याण्ड स्कुललाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो ।निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । निर्धारित समयमा ड्रिमल्याण्डका निर्देश भण्डारीले २९ औं मिनेट गोल गर्नु भएको थियो । मनकामनाका बिराट चन्दले ५५औं मिनेटमा गोल गरेर खेल बराबरी गर्नु भएको थियो । पेनाल्टी सुटआउटमा मनकामना बिराट चन्द, पुनित विक र आयुश केसीले गोल गर्नु भयो भने ड्रिमल्याण्डका अनिल बोहरा र निर्देश भण्डारीले गोल गर्नु भएको थियो । खेलमा मनकामना बिराट चन्द प्लेयर अफ द म्याघ घोषित हुनु भएको थियो । उहाँलाई लुम्बिनी प्रदेश फुटबल संघका सदस्य मोहन सिंह थापाले पुरस्कृत गर्नु भयो ।

यसैगरी शनिबारको चौथो खेलमा सगरमाथाले पेनाल्टी सुटआउटमा राम मावि कोहलपुरलाई ४–२ ले हरायो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा सगरमाथाका प्रतिक जंग खत्री, दिनेश सलामी मगर, अर्जुन बलामी मगर, विश्वास खत्रीले गोल गर्नु भएको थियो । राम माविका खिमराज गिरी र खेमराज सुनारले गोल गर्नु भएको थियो । खेलमा प्लेयर अफ द म्याच बन्न सफल सगरमाथाका गोलकिपर बिपिन खत्रीलाई बाँके जिल्ला फुटबल संघका कोषाध्यक्ष सानु तामाङले पुरस्कृत गर्नु भयो । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिमको सहभागिता रहेको छ ।

शनिबार एक समारोहका बिच नेपालगन्ज उपमहानगरपालिका नगर उपमुख कमरुद्धिन राई, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फाका केन्द्रिय सदस्य भोजराज शाही, एन्फाका पुर्व उपाध्यक्ष गोवद्र्धन सिंह सम्झना लगायतले उद्घाटन गर्नु भएको थियो । प्रतियोगिताको फाइनल खेल फागनु ३ गते हुने आयोजकले बताएको छ ।

प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेलमा पहिलो खेलमा आदर्श मावि राझाँ र जय बागेश्वरी स्कुल बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा मुनतारा स्कुल र ग्रीनपीसले खेल्नेछन भने तेस्रो खेलमा आदर्श मावि नेपालगन्ज र सेन्टथोमस स्कुलबिच प्रतिस्पर्धा हुनेछ । चौथो खेलमा सिद्धार्थ विद्या सदन र धम्बोझी मावि बिच प्रतिस्पर्धा हुनेछ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि नेपालगन्ज रंगशालामा हुँदैछ । मेयर कप फुटबल प्रतियोगिता–२०८१ को छात्र तर्फ २१ विद्यालयको सहभागिता रहेको छ । नेपालगन्ज रंगशालामा बिहिबार सार्वजनिक गरिएको खेल तालिकाको समुहमा ‘ए’ मा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, होप इन्टरनेशनल, पशुपति मावि राझाँ, ब्राइटल्याण्ड मावि, डिूमल्याण्ड, मनकामना, सगरमाथा, राम मावि, मोर्डन पब्लिक र जीवनज्योती स्कुल रहेका छन् ।

यसैगरी समुह ‘बी’ मा आदर्श मावि राझाँ, जय बागेश्वरी स्कुल, मुनतारा, ग्रीनपीस, आर्दश मावि नेपालगन्ज, सेन्टथोमस, सिद्धार्थ विद्या सदन, धम्बोझी मावि, मंगलप्रसाद मावि, युनाईटेड र नेपालगन्ज मोडेल एकेडेमी रहेका छन् । प्रतियोगिताको फाइनल खेलहरु फागुन ३ गते हुनेछ ।

यसैगरी मेयर कप छात्रा फुटबल तर्फको खेल तालिका केहि दिनमा सार्वजनिक गरिने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको प्रतिस्पर्धामा सहभागी हुने टिमको संख्या कम भएका कारण केहि दिन पछि खेल तालिका सार्वजनिक गरिने संघले जानकारी गराएको छ ।

हरेक वर्ष बाँके जिल्ला फुटबल संघले आयोजना गर्दै आएको मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरेर बाँके जिल्लाको टिम तयारी पारिने बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताउनु भयो ।

छात्रा तर्फको फुटबल प्रतियोगितालाई नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा स्थानीय टिमको लागि खेलाडी छनोटको रुपमा पनि लिइएको आयोजकले बताएको छ । प्रतियोगिताका दौरान उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट चरणमा सहभागि गराउने तयारी रहेको संघले बताएको छ ।

मेयर कप फुटबल प्रतियोगिताले बाँकेमा हरेक वर्ष प्रतिभावान खेलाडी उत्पादन गरिरहेको संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘मेयर कप भनेको विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने प्रतियोगिता हो । यसले खेलाडीहरुलाई विद्यालय स्तरबाटै उच्च स्तरको प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको हुन्छ । यस प्रतियोगिताबाट राम्रो खेल्ने खेलाडीले भविष्यमा व्यवसायिक फुटबलरको रुपमा आफुलाई अगाडी बढाउन सक्छन् ।’ विद्यालय स्तरको खेलाडीलाई प्राथमिकतामा राखेका कारण १८ वर्ष सम्मका खेलाडीले मात्र खेल्न पाउने आयोजकले नियम बनाएको छ ।

गत वर्ष मेयर कप फुटबल प्रतियोगिताको छात्र तर्फ नेपालगन्ज सेन्ट जेभियर्स र छात्रा तर्फ नेपालगन्ज मोडेल एकेडेमीको टिम च्याम्पियन बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *