Friday, February 14सत्यम खबर
Shadow

बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण

डुडुवा, १९ माघ – बाँकेको डुडुवा गाउँपालिकाका विद्यार्थीहरुलाई बालमैत्री स्थानीय शासन बारे अभिमुखीकरण गरिएको छ ।

गाउँपालिकाको सहयोगमा सामुहिक अभियान नेपालको सहजीकरणमा गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुका विद्यार्थीलाई बालमैत्री स्थानीय शासन बारे जानकारी गराइएको हो ।

अभिमुखीकरणमा बाल अधिकार, स्थानीय शासन, स्थानीय तहको सेवा सुविधा, बाल संरक्षण तथा सम्वद्र्धन, बालमैत्री बाताबरण, बाल विकास तथा सहभागिता लगायतका विषयमा तेजविक्रम शाहले सहजीकरण गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई बाल अधिकारसंग जोडिएका सामान्य विषयमा जानकारी हुनुपर्ने भएकाले यस्तो कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालबालिकाले आफ्नो अधिकार बारे जानकारी पाएमा आफै पैरवी तथा समाज जागरणमा विशेष भुमिका निर्वाह गर्न सक्षम हुने बताउनुभयो ।

अभिमुखीकरणमा डुडुवा अन्तर्गत रहेका विद्यालयका कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । अभिमुखीकरणको शुभारम्भमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्ण, स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्मा, शिक्षक महासंघ बाँकेका उपाध्यक्ष शेखर रावत, सामुहिक अभियान नेपालका अध्यक्ष केसु पोखरेल, सचिव तारा वली, महिला अधिकारकर्मी लक्ष्मी पोखरेल, कृष्णा कार्कीले बालबालिकासंग जोडिएका विभिन्न विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

बाँकेको डुडुवा, राप्ती सोनारी र जानकी गाउँपालिकामा विद्यालयका विद्यार्थी लक्षित कार्यक्रम गरिने अभियानका अध्यक्ष पोखरेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *