Friday, February 7सत्यम खबर
Shadow

कार्यकाल सकिनु १० महिनाअघि नै लिङ्देनलाई धवल शमशेरको चुनौती

काठमाण्डौ, १४ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई नियमित कार्यकाल सकिनु १० महिना अगावै कार्यशैलीमा प्रश्न उठाउँदै महामन्त्री धवलशमशेर राणाले चुनौती दिएका छन्।

राप्रपाको २०७८ मंसिरको महाधिवेशनबाट कमल थापालाई हराउँदै लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए। उनको चार वर्षे कार्यकाल सकिन १० महिना बाँकी छ।

माघ १० गते धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समिति बैठक थियो। केन्द्रीय समितिका एजेन्डा तय गर्न बसेको बैठक सकिनै लाग्दा महामन्त्री धवलशमशेर राणा बोले- अध्यक्षज्यू, मेरो फरक विचार छ, केन्द्रीय समितिमा पेस गर्न पाऊँ।

अध्यक्ष लिङ्देनले तत्काल हुन्छ वा हुन्न केही भनेनन्।

महामन्त्री राणाले फरक विचार के राख्न खोजेका हुन् लिङ्देनलाई भेउ थियो। त्यसैले पनि हुनुपर्छ, केहीबेरपछि अध्यक्ष लिङ्देनले भने- तपाईंको बोल्ने पालोमा केन्द्रीय समितिमै वाचन गर्न सक्नुहुन्छ।

भोलिपल्ट, माघ ११ गते धुम्बाराहीमा केन्द्रीय समिति बैठक बस्यो। अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा, महामन्त्री राजेन्द्र गुरूङले सचिवालय प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले लेखा परीक्षण प्रतिवेदन पेस गरे। महामन्त्री राणाको स्वास्थ्यमा समस्या देखिएकोले उनका तर्फबाट महामन्त्री कुन्ति शाहीले राणाले तयार पारेको राजनीतिक प्रतिवेदन पेस गरिन्।

अध्यक्ष राजेन्द्र लिङ्देनमा सत्ता मोह देखिएको र त्यसले गर्दा सदनदेखि सडकसम्म राप्रपा कमजोर भएको निष्कर्ष महामन्त्री राणाको छ। उनले पार्टी महाधिवेशनको भावनाअनुसार विधि र विधानअनुसार चल्न नसकेको पनि उल्लेख गरेका छन्।

अध्यक्ष लिङ्देनले आफूमाथि महामन्त्री राणाले फरक विचारका नाममा लगाएका आरोप केन्द्रीय समितिमा धैर्यपूर्वक सुने।

केन्द्रीय समितिमा आफ्ना पक्षमा बहुमत बढी सदस्य रहेकोले पनि हुनुपर्छ- अध्यक्ष लिङ्देनले राणाको प्रतिवेदनमाथि बैठकमा खुला छलफल हुन दिए र केन्द्रीय समितिपछि पार्टीले जारी गरेको विज्ञप्तिमा राणाको प्रतिवेदनमा विस्तृत छलफल भएको कुरा उल्लेख गरेर संस्थागत नै गरिदिए।

‘अध्यक्ष लिङ्देनले आफूमाथि लागेका आरोप एक पटक पनि नसुनिकन केन्द्रीय समितिमा खुला छलफल गर्न दिनुले राप्रपामा प्रजातान्त्रिक नेतृत्व छ भन्ने सन्देश दियो,’ लिङ्देन पक्षका एक पदाधिकारीले भने, ‘महामन्त्री राणाको फरक विचारलाई बहुमतका आधारमा पेलेर जान पनि सक्थे तर लिङ्देनले त्यसो गरेनन्। आफूमाथिका आरोप सुनेर बसे, योभन्दा ठूलो प्रजातान्त्रिक नेतृत्व के हुन सक्छ?’

केन्द्रीय समितिमा अध्यक्षसहित तीन वटा अरू प्रतिवेदन पेस भए पनि अधिकांश केन्द्रीय सदस्यहरूले महामन्त्री राणाकै प्रतिवेदनमाथि केन्द्रित रहेर धारणा राखे।

कतिपयले फरक राजनीतिक विचारका नाममा अहिलेदेखि नै महाधिवेशनको तयारी गर्न खोजेको र पार्टीलाई थप समस्यामा लैजान खोजेको भन्दै आलोचना गरे भने कतिपयले लिङ्देनका कार्यशैली माथि गरिएका प्रश्नलाई स्वाभाविक नै ठाने।

माघको ११, १२ र १३ गते धुम्बाराहीमा चलेको केन्द्रीय समिति बैठकमा १७२ जना केन्द्रीय सदस्यहरूले धारणा राखे।

करिब २० जनाले महामन्त्री राणाको फरक विचारलाई खुलेरै समर्थन जनाए भने बोलेका अधिकांश केन्द्रीय सदस्यहरूले राणाको प्रतिवेदनले उठाएका विषयवस्तुकै वरिपरि रहेर धारणा राखेका थिए।

पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीले कसैको प्रतिवेदनमाथि टिप्पणी गर्न चाहेनन्। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित केही केन्द्रीय सदस्यहरू भने पार्टीभित्र विधि हुनुपर्ने पक्षमा उभिए।

‘अधिकांश केन्द्रीय सदस्यले महामन्त्री राणाकै प्रतिवेदनमाथि टिकाटिप्पणी गर्न समय खर्चिए, केन्द्रीय समितिको झिनो संख्याले मात्रै समर्थन जनायो,’ अध्यक्ष लिङ्देन पक्षका ती पदाधिकारीले दाबी गरे, ‘अधिकांश केन्द्रीय सदस्यहरूले महामन्त्री राणालाई स्वास्थ्यलाभको कामना गरे तर राजनीतिक समर्थन भने दिएनन्।’

महामन्त्री राणा केही समयदेखि बिरामी छन्। उनलाई गत असोजमा पार्टीले संगठन विभाग प्रमुखको जिम्मेवारी खोस्ने निर्णय गर्दै आन्दोलन परिचालन समितिको जिम्मेवारीमात्रै दिएको थियो। यसमा महामन्त्री राणा असन्तुष्ट थिए। यो विषय उनले अहिलेको केन्द्रीय समितिमा पनि उठाए।

‘मान्छे बिरामी हुन नपाइने? अस्पताल भर्ना भएकै आधारमा कारबाही गरे जसरी पार्टीका जिम्मेवारी खोसिदिने?’ अध्यक्ष लिङ्देनलाई कटाक्ष गर्दै महामन्त्री राणाले केन्द्रीय समितिमा भनेका कुरा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘बिरामी हुनासाथ पद गुम्ने खतरा देखियो। अध्यक्षलगायत बिरामी भए पद के हुन्छ? मलाई संगठन विभागबाट हटाउनु न्यायोचित छ त?’

अध्यक्ष लिङ्देनले राणा भारतमा उपचार गराइरहेका बेला संगठन विभाग प्रमुखको जिम्मेवारी खोसेर आफूनिकट उपाध्यक्ष बुद्धिमान तामाङलाई उक्त जिम्मेवारी दिएका थिए।

तैपनि अधिकांश केन्द्रीय सदस्यहरू अध्यक्ष लिङ्देनकै पक्षमा उभिएका थिए।

‘महाधिवेशन आउन १० महिना बाँकी छँदै नेतृत्वका लागि प्रतिस्पर्धा गरेको देखियो,’ महामन्त्री राणाको फरक राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गरेका अध्यक्ष लिङ्देन पक्षका केन्द्रीय सदस्यहरूको एकै स्वर सुनिन्थ्यो, ‘राम्रो काम गरे आउँदो महाधिवेशनबाट पनि लिङ्देन नै अध्यक्ष दोहोरिनुहुन्छ, राम्रो काम भएको रहेनछ भने महाधिवेशनले नेतृत्व परिवर्तन गर्ला, तर अहिलेदेखि नै प्रतिस्पर्धा नगरौं।’

अध्यक्ष लिङ्देनले राप्रपा महाधिवेशनका बेला तत्कालीन अध्यक्ष कमल थापाको आलोचना गर्दै ‘पार्टी बेपत्ताजस्तो अवस्थामा रहेको र समयको पदचाप चिनेर नेतृत्व छाड्न’ दबाब नै दिएका थिए।

महामन्त्री धवलशमशेर राणाले अध्यक्ष लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै फरक राजनीतिक विचार पेस गरेका हुन्।पार्टी विधान तथा राप्रपा महाधिवेशनले निर्दिष्ट गरेका निर्णयविपरीत अध्यक्ष चल्ने गरेको उनको आरोप थियो।

अध्यक्ष लिङ्देनले कार्यकर्ताको भावनाविपरीत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टी सहभागी गराएको र त्यसले राप्रपालाई अलोकप्रिय बनाउने काम गरेको विषय पनि महामन्त्री राणाको फरक राजनीतिक विचारमा समावेश छ।

अध्यक्ष लिङ्देनमा सत्ता मोह देखिएको र त्यसले गर्दा सदनदेखि सडकसम्म राप्रपा कमजोर भएको निष्कर्ष महामन्त्री राणाको प्रतिवेदनमा समेटिएको हो।

अध्यक्ष लिङ्देन प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय ऊर्जा मन्त्री बनेका थिए। उनले आफ्नो कार्यकालमा ऊर्जा क्षेत्रमा राम्रा काम गरेको दाबीसमेत गर्दै आएका छन्।

पार्टी सरकारमा सामेल हुनु गल्ती भएको महामन्त्री राणाको ठम्याइँलाई सहमहामन्त्री धनबहादुर बुढाले भने प्रश्नसहित केन्द्रीय समिति बैठकबाटै जबाफ दिए।

‘तपाईं आफै मन्त्री हुन पाऊँ भन्दै अध्यक्षज्यूकोमा धाएको होइन?, त्यसबेला कुन मन्त्रालय लिने भन्ने छलफल गरेको हो कि होइन?,’ सहमहामन्त्री बुढाले महामन्त्री राणालाई प्रश्न गरे, ‘प्रचण्ड नेतृत्वको सरकारमा गठबन्धनका तर्फबाट न्यूनतम साझा कार्यक्रम डाफ्ट गर्न राप्रपाबाट तपाईं नै जानुभएको होइन? अनि अहिले सरकारमा राप्रपा जानु गलत थियो भन्ने?’

नेता ठाकुरप्रसाद शर्माले पनि महामन्त्री राणाको प्रतिवेदनका कतिपय कुरा अराजनीतिक भएको दाबी गरेका थिए।

‘पार्टी सरकारमा सामेल हुने भनेर कार्यसम्पादन समितिले निर्णय गरिसकेको थियो। तपाईं पनि कार्यसम्पादनमा हुनुहुन्थ्यो, त्यसबेला किन विरोध गर्नुभएन?,’ उनले प्रश्न गरे, ‘फेरि यो विषय केन्द्रीय समितिमा ल्याउनु अराजनीतिक हो।’

सहमहामन्त्री प्रकाश रिमालले यस्ता राजनीतिक विचारले पार्टीलाई कमजोर बनाउन सक्नेतर्फ ख्याल गर्न आग्रह गरे। ‘पार्टी टुटफुट र विभाजनको कुरा हाम्रा नेताहरूलाई सोधौं, नेतादेखि कार्यकर्तामा यसले कति पीडा दिन्छ भनेर,’ उनले भने।

अध्यक्ष लिङ्देन पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिमा धारणा राख्दा महामन्त्री राणालाई लक्ष्य गर्दै फरक राजनीतिक विचार प्रत्युपादक हुने दाबी गरेका थिए।

‘केन्द्रीय समितिमा अध्यक्षज्यूका पक्षमा भारी समर्थन हुँदाहुँदै महामन्त्री राणा पक्षको विचार राख्न दिएर पनि उहाँले आफ्नो प्रभुत्व देखाउनुभयो,’ लिङ्देन पक्षका एक पदाधिकारीले भने।

कार्यसम्पादन समिति सदस्यसमेत रहेका प्रतिनिधि सभा सांसद दीपक सिंहले आइतबारको केन्द्रीय समितिमै महामन्त्री राणाको प्रतिवेदनमा कटाक्ष गरे। अध्यक्ष लिङ्देनको बचाउ गर्दै सिंहले महामन्त्री राणाले पेस गरेको राजनीतिक विचारलाई काम नलाग्ने (थाङ्ने) को संज्ञा दिएका हुन्।

महामन्त्री राणाका पक्षमा राप्रपामा महामन्त्री कुन्ति शाही, सहमहामन्त्री रवीन्द्रप्रताप शाह, सहायक महामन्त्री प्रेम बलायर, प्रविन थोकर, ऋषिराज देवकोटा छन्।

साथै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँगै विवेकशील साझाबाट राप्रपामा गएकामध्ये नारायण कोइराला, रन्जन कार्की, कर्णबहादुर शाहीलगायत पनि महामन्त्री राणाका पक्षमा उभिएका छन्।

तर वरिष्ठ उपाध्यक्ष मिश्रनिकट महामन्त्री शरदराज पाठक, सहमहामन्त्री उज्ज्वलकृष्ण श्रेष्ठ, अमृत पुडासैनी, निरूपमा यादव, शोभा शाक्य, अर्जुन खनाल, सुशीला अधिकारी, हरिप्रसाद गौतम, उद्धवराज भेटुवाललगायत अध्यक्ष लिङ्देन पक्षमा रहेको ती पदाधिकारीले दाबी गरे।

राप्रपाले महाधिवेशन गर्न बाँकी रहेका भ्रातृ संस्थाहरूको महाधिवेशन २०८१ चैतभित्र सम्पन्न गर्ने, २०८२ वैशाखभित्र सबै स्थानीय तह र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने गरी सक्रिय हुन मातहत समितिलाई निर्देशन पनि दिएको छ।

केन्द्रीय समितिमै फरक राजनीतिक विचार राखेका महामन्त्री राणा पक्षले महाधिवेशनलाई लक्षित गरेर थप सक्रियता देखाउने तयारी पनि गरेको छ।

महामन्त्री धवलशमशेर राणाले सेतोपाटीसँग कुराकानी गर्दै फरक राजनीतिक विचार प्रतिवेदनमाथि पार्टी केन्द्रीय समितिमा व्यापक रूपमा छलफल भएको बताए।

‘मैले पेस गरेको फरक राजनीतिक विचार प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफल भयो, यो पार्टीको एउटा अंग भएको छ, धेरै कुराहरू आएका छन्, हेर्दै जाऊँ, ठिकै छ,’ महामन्त्री राणाले भने।

आउँदो महाधिवेशनमा अध्यक्षमा लिङ्देनलाई चुनौती दिनका लागि फरक राजनीतिक विचार आएको आरोपलाई लिएर सोधिएको प्रश्नमा महामन्त्री राणाले भने, ‘महाधिवेशनबारे अहिले नै बोल्न धेरै नै छिटो हुन्छ।’

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर रहेका धवलशमशेरकै सहयोगमा लिङ्देनले २०७८ मंसिरमा राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका थिए। पहिले साथ दिएका राणाले नै अब लिङ्देनलाई चुनौती दिने देखिएको छ। (सेतापाटी अनलाईनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *