
नेपालगन्ज, ११ माघ – बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा रहेको श्री लक्ष्मीमाध्यमिकविद्यालयकाविद्यार्थी र शिक्षकहरूले मानव वन्यजन्तु द्वन्द्वले सिर्जना गरेको चुनौतीसँग निरन्तर जुधि रहेका छन् । विद्यालयदेखि घरसम्म पुग्ने बाटो मात्र होइन, दिनदिनै कामहरू पनि डर र त्रासले भरिएका छन् ।
कक्षा १२ की ललीता कुँवर भन्नुहुन्छ, “हामी जंगलको नजिकै बस्छौं, जहाँ बाघ र चितुवाको डर सधैं रहन्छ । घर परिवारले खेतीपाती, पशुपालन, र जंगलमा घाँसदाउरा जाँदा ज्यान कै जोखिम मोल्नु पर्छ ।”
समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले आयोजना गरेको शुक्रबार वातावरण बार कार्यक्रममा विद्यार्थीसँगै शिक्षकहरूले आफ्ना समस्याहरू खुला रूपमा राखे । सहायक प्रधानाध्यापक डिल्लीबहादुर डाँगीले भन्नुभयो, “हाम्रो समुदायमा वन्यजन्तुबाट हुने क्षतिको समस्या दिन प्रतिदिन बढ्दैछ । आजको छलफलले विद्यार्थीहरूलाई क्षतिपूर्तिको अधिकार, बीमा प्रक्रिया, र न्यायका उपाय बारे नयाँ दृष्टिकोण दिएको छ । उनीहरूले यो ज्ञान आफ्ना घर र छरछिमेकसम्म पुर्याउने कुरामा म विश्वस्त छु ।”
कार्यक्रमका सहजकर्ता मदन ज्ञवालीले वन्यजन्तुको आनीबानी, राहत निर्देशिका २०८०, र बीमा प्रक्रिया बारे गहन जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राज्यले दिने सेवा सुविधा लिन कुनै पनि झन्झट नमान्नु होस् । पाँच सय रुपैयाँ खर्च गरेर भएपनि एक सय रुपैयाँको न्याय लिनु पर्छ ।”
विद्यार्थीहरूले यो कार्यक्रमलाई शिक्षा मात्र नभई जीवनको सुरक्षा र विकासका लागि आवश्यक कदमका रूपमा लिएका छन् ।
“हामीले आज बीमा प्रक्रिया बारे धेरै कुरा सिक्यौं । यसले हाम्रो परिवारलाई वन्यजन्तुबाट सुरक्षित राख्न सहयोग पुर्याउने छ,“ ललीता कुँवरले थप्नुभयो ।
वन्यजन्तु आतंकले उनीहरूको मात्र होइन, सिंगो समुदायको भविष्यलाई प्रश्न चिह्नमा राखेको छ । राहत प्रक्रियाको झन्झट, बीमा प्रक्रियाको जानकारी अभाव, र राज्यको सीमित पहुँचले समस्या झनै गम्भीर बनाएको छ ।
यो कार्यक्रम युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रमको साझेदारीमा नेपालगन्ज स्थित सीसीएनमार्फत् संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत गरिएको हो ।
७० जना सहभागी रहेको यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना आवाज बुलन्द गर्न सफल भए । शुक्रबार वातावरण बारले यी चुनौतीलाई समाधान गर्न नयाँ सोच र सामूहिक प्रयासको आवश्यकता रहेको देखाएको छ ।
यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा सञ्चालित छ । कार्यक्रमको रेडियो तथा भिडियो प्रसारण समेत गरिने सीसीएनले जनाएको छ ।