
नेपालगन्ज, २० कार्तिक – अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् । बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उनी जित नजिक पुगेका हुन् ।
चार वर्ष अगाडि यो राज्य उनीहरूको हातबाट फुस्केको थियो । यी राज्यमा भएको जितले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा दोहोरिने आकांक्षालाई कठिन बनाएको छ । राष्ट्रपति पदमा आसिन हुन आवश्यक २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ ।
अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन् ।

अब बाइडेनलाई जितका लागि कुनै एक राज्यमा जित हासिल गरे पुग्छ । हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ ।
राष्ट्रपतिमा दोहोरिने चाहना कठिन मोडमा पुगेका ट्रम्पको चुनावी अभियानले विन्कन्सिनको मत पुनःगणना गर्नुपर्ने माग गरेका छन् । यस राज्यमा केही सय भोटले बाइडेन विजयी भएपछि उनीहरूले पुनः मतगणना गर्न माग गरेका हुन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ । (एजेन्सी)
