
भारत,२० कार्तिक – आत्महत्या दुरूत्साहनको अभियोगमा बुधबार पक्राउ परेका भारतीय टेलिभिजन रिपब्लिक टिभीका संस्थापक तथा प्रधानसम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।
गोस्वामीसँगै अन्य दुईलाई पनि बुधबार राति न्यायिक हिरासतमा पठाइएको छ । न्यायिक हिरासतमा पठाइएका अर्नबका वकिलले जमानतका लागि निवेदन दिइएको र सोको सुनुवाइ आज विहिबार हुनसक्ने बताएका छन् ।

अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसै वर्ष महाराष्ट्र सरकारले घटनाको सिआईडी जाँच गर्न आदेश दिएको थियो । प्रहरीले अर्नबको घरको खानतलासी पनि गरेको छ ।
अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा सिआइडीद्वारा पुनः जाँचको आदेश दिइएको थियो ।
राज्यका गृहमन्त्री अनिल देशमुखले मृतक डिजाइनर अन्वय नाइककी छोरी आज्ञा नाइकले बाँकी पैसा नदिएको बारेमा जाँच नभएको दाबी गर्दै आएको बताए ।
उनका अनुसार यसै कारणले डिजाइनर र उनकी आमाले आत्महत्या गर्न बाध्य भएका हुन् । अन्वय नाइकले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा उनले आफूले पाउनुपर्ने ५.४० करोड भारू भुगतान नपाएपछि आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए ।
अर्नब पक्राउको महराष्ट्र राज्यको विपक्षी दलले सरकारको आलोचना गरेको छ ।
यसैगरी भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले पनि ट्विट गर्दै अर्नबको गिर्फतारीले लोकतन्त्र लज्जित भएको प्रतिक्रिया दिएका छन् ।