Friday, March 13सत्यम खबर
Shadow

अमेरिकी राष्ट्रपतिको अन्तिम मतपरिणाम कहिले आउला ?

नेपालगन्ज, १९ कार्तिक – सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन एउटा विशेष परिस्थिति भइरहेको छ । कोरोना भाइरस महामारीका बीच संसार कै शक्तिशाली मुलुक अमेरिकामा चुनाव भएको हो । महामारीमा भएको चुनावमा भने उल्लेख्य मात्रामा अमेरिकीहरूले मतदान गरेका छन् । तीमध्ये पनि यसपालि हुलाकबाट भोट हाल्ने मानिसहरूको संख्या ह्वात्तै बढेको छ ।
मतदान स्थलमा भौतिक दूरी कायम गर्न मुस्किल हुने भएकाले यसपालि मानिसहरूले हुलाकबाट भोट हालेका हुन् । अमेरिकाको चुनावमा संसारको चासो छ । ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प नै रहन्छन् कि जो बाइडेन आउँछन् भन्ने टुंगो लागेको सुन्न संसारभरका मानिसहरूमा आतुरी छ ।


तर ट्रम्पले जित्छन् कि बाइडेन भन्ने टुंगो लाग्न अझै केही दिन वा हप्ता कुर्नुपर्ने हुन सक्छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल कलेजमा जित्नुपर्छ । विभिन्न राज्यलाई जनसंख्याका आधारमा फरक–फरक इलेक्टोरल कलेज छुट्याइएको हुन्छ ।
यसअघिका चुनावमा अमेरिकी मिडिया प्रायः मतदान भएको मध्यरातसम्म कसले चुनाव जित्यो भन्ने लेख्न सक्थे । उनीहरूले विभिन्न डाटाहरूको आधारमा त्यस्तो गर्न सक्थे । तर यसपालि भने उनीहरूले त्यस्तो गर्न सक्ने सम्भावना कम छ ।
किनकी यसपालि अहिलेसम्मकै धेरै मतदान भएको छ भने त्यसमध्ये पनि धेरैले हुलाकबाट भोट हालेका छन् । पेन्सिलभेनिया, विस्कन्सिन र मिसिगनलगायत राज्यमा अन्तिम परिणाम आउन केही दिन लाग्न सक्छ ।
यसअघि डेमोक्र्याटिक पार्टीको प्राइमरीमा केही राज्यहरूले हुलाकबाट भोट हाल्ने अभ्यास गरेका थिए । त्यतिबेला त्यसरी गरिएको मतदानको मतगणना भएर अन्तिम नतिजा आउन औसतमा ६.४ दिन लागेको थियो ।
फ्लोरिडा बाहेक अरू राज्यहरूमा मंगलबार मतदान सकिएपछि मात्र हुलाकबाट आएका मतको गणना सुरू गरिएको थियो ।
यसअघि हुलाकबाट भोट गन्न बाँकी हुँदा पनि इलेक्ट्रोनिक भोट गन्दा कसले जित्छ भने एउटा प्रष्ट तस्बिर देखिन्थ्यो ।
यसपालि पनि ट्रम्प वा बाइडेन ठूलो अन्तरले अगाडि भएको भए आजै कसले जित्छ भन्ने निष्कर्ष निकाल्न सकिन्थ्यो तर उनीहरूबीच कडा टक्कर भइरहेको छ ।
दुई उम्मेद्वारबीच नतिजाबारे विवाद भए यो विषय अमेरिकाको सर्वोच्च अदालतसम्म जान सक्छ । राष्ट्रपति ट्रम्पले आजै आफू सर्वोच्च जाने बताइसकेका छन् । त्यसो हुँदा चुनावको मतपरिणाम आउन हप्तौं लाग्न सक्छ ।
अमेरिकामा राष्ट्रपतिको चुनावको मतपरिणाम कति समयमा आइसक्नु पर्छ भन्नेमा कुनै कानुनी व्यवस्था छैन । तर जनवरी २० मा नयाँ राष्ट्रपतिले सपथ लिने दिन भएकाले त्यतिबेलासम्म भने राष्ट्रपति को हुने छिनोफानो गरिसक्नु पर्छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *