Thursday, July 10सत्यम खबर
Shadow

मानव र वन्यजन्तु बीचको द्वन्द न्यूनीकरण गर्न यूवा स्तरबाट पहल हुनुपर्ने

नेपालगन्ज, ७ पुस – मानव र वन्यजन्तु बीचको द्वन्द न्यूनीकरण गर्न यूवा स्तरबाटै वातावरणीय न्याय, वन्यजन्तुबाट हुने क्षतिको राहत प्राप्त गर्ने प्रकृया लगायतका विषयमा सचेतना अभियान र वकालत हुनुपर्ने एक छलफलमा सहभागी भएका यूवाहरुले बताएका छन् ।

बर्दियाको मधुवन नगरपालिका वडा नं. २ वरपरको क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द बढ्दै गएको रजसका कारण समुदायका युवाहरु तथा तिनका परिवारका सदस्यहरुलाई वन्यजन्तुले आक्रमण गर्न सक्ने कुरालाई लिएर यूवाहरु चिन्तित छन् ।

समुदायमा बस्ने यूवाहरु घाँस दाउराका लागि जंगल जाने भएकाले उनीहरु वन्यजन्तुको जोखिम भएको सगुन युवा क्लबका सदस्य मनित कुश्मीले बताउनु भयो । “समुदायका यूवाहरु वन्यजन्तुको आनीबानी सँग परिचित छैनन् र उनीहरुको परिवारलाई कुनै पनि किसिमको क्षति भएमा राहतमा गर्ने प्रकृयाका बारेमा समेत जानकारी छैन”, उहाँले अगाडि थप्नु भयो ।

समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले शनिबार मधुवन नगरपालिका वडा नं. २ सुन्दरपुरमा आयोजना गरेको ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी’ कार्यक्रममा सहभागीहरुले मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणमा सम्बद्ध निकायले चासोका साथ काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सगुन यूवा क्लबका सदस्यहरु, स्थानिय यूवा र किशोर किशोरीहरुले यूवाहरु बिच र समुदायमा सचेतना मुलक कार्यक्रमहरु गर्न सुझाव दिएका हुन । युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधीका रुपमा क्लब चौतारी गरिएको सीसीएनले जनाएको छ ।
क्लब चौतारीको सहजीकरण गर्दै विषय विज्ञ रमेश थापाले वातावरणीय न्याय, निकुञ्ज प्रभावित क्षेत्रका युवाहरुको चुनौती तथा अधिकार र मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणका उपाय बारे प्रस्तुती गर्नु भएको थियो । उहाँले वन्यजन्तु प्रभावितहरुको राहत तथा क्षतिपूर्तिका लागि बनेको निर्देशिकाको व्यवस्था, प्रकृया र सुविधा लगायतका बारेमा पनि सहभागिसँग छलफल गर्नु भएको थियो ।

सगुन यूवा क्लबका अध्यक्ष मनिराम चौधरीले क्लब चौतारीले वातावरणीय न्याय र जवाफदेहिताका लागि सरोकारवाला निकायहरुसँगको बहसमा सहयोग पुग्ने र यूवाहबाट उनीहरुको परिवार तथा समुदायमा मानव–वन्यजन्तु द्वन्द न्यूनीकरण अभियानको सुरुवात हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा ५३ जनाको सहभागीता रहेको थियो । यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा सञ्चालित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *