नेपालगन्ज, १५ कार्तिक – जानकी गाउँपालिका वडा नं. ४, सहादतपुरमा रहेको चाचा ईट्टा उद्योगले अदालतको अन्तरिम आदेशलाई समेत नमान्ने बताएको छ ।
विहिबारका दिन ‘‘अटेरी गर्ने चाचा ईट्टा उद्योगलाई अदालतको अन्तरिम आदेश’’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि नेपाल ईट्टा उद्योग व्यवसायी संघले सो सम्बन्धी कार्यान्वयनको लागि जिल्ला प्रशासन कार्यालयमा आवश्यक सहयोग सम्बन्धमा निवेदन दर्ता गराएको थियो ।
सोही निवेदनलाई जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्ला प्रहरी कार्यालयलाई ‘‘आवश्यक कार्याथ सम्बन्धमा’’ उल्लेख गरि पत्र पठाएको थियो । सोही पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित जानकी गाउँपालिका प्रमुख छब्बन खान, चाचा ईट्टा उद्योगका प्रोप्राईटर नसिम खान तथा नेपाल ईट्टा उद्योग व्यवसायी संघका पदाधिकारीहरु बीच छलफल गराई अब उप्रान्त अदालतको आदेशानुसार कार्यान्वयन गर्ने गराउने भनी सहमति गराई पठाएको थियो ।
सो सहमति भएपनि त्यसको कार्यान्वयन आफूले नगर्ने भनी प्रो. नसिम खानले जिल्ला प्रहरी कार्यालय बाहिर निस्केपछि भनेको आरोप अन्य ईट्टा व्यवसायीहरुको रहेको छ ।
यसबारे जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले हामीलाई जिल्ला प्रशासन कार्यालयको पत्र प्राप्त हुन साथ सम्बन्धित पक्षलाई बोलाई छलफल गराएको तथा उच्च अदालतले दिएको अन्तरिम आदेश बमोजिम कार्य गर्नु गराउनु भनी सहमति भएको हुँदा सो बमोजिम कथम कदाचित कसैले अटेरी गरेको अवस्थामा अदालतको अवहेलना मुद्दा त लाग्ने नै भयो त्यस अगावै उसलाई थप कानुनी कार्वाही समेत हुर्ने बताएका छन् ।
यता चाचा ईट्टा उद्योगका प्रो. नसिम खानले आफूले नेपाल ईट्टा उद्योग व्यवसायी संघबाट राजिनामा दिई सकेका हुँदा उनले लगाएको कुनै पनि नियम आफूले मान्नु पर्ने बाध्यता नरहेको तथा हिजोको मितिमा अदालतको अन्तरिम आदेश आउनु अगावै मेरो ईट्टा उद्योगमा आगो लागि सकेको जानकारी गराउँदै आफूले नेपाल सरकारलाई कर दिई रहेका हुँदा नेपाल सरकारद्वारा जारी नियम कानुन बाहेक थप मान्नु पर्ने अवस्था नरहेको बताएका छन् ।