Tuesday, October 22सत्यम खबर
Shadow

चार महिनामा दोस्रोपटक रुस जाँदै मोदी

काठमाण्डौ, ३ कार्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता हुने ब्रिक्स सम्मेलनमा भाग लिन रुस जाने भएका छन् । अक्टुबर २२ देखि २४ मा रुसको कजान सहरमा हुने सम्मेलनमा विश्वव्यापी मुद्दा र सदस्य राष्ट्रहरूबीचको सहयोगबारे छलफल हुने जनाइएको छ ।

विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्र भएका मुलुक ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले स्थापना गरेको ब्रिक्समा इरान, इजिप्ट र संयुक्त अरब इमिरेट्स पनि सदस्य छन् । आधिकारिक रूपमा आबद्ध भइनसकेको भए पनि साउदी अरबले ब्रिक्समा भाग लिँदै आएको छ ।

वासिङ्टन र अन्य पश्चिमी सहयोगीहरूसँग नजिकको सुरक्षा साझेदारीका बाबजुद भारतको रुससँग लामो समयदेखि सुमधुर सम्बन्ध रहँदै आएको छ । मस्को र पश्चिमा मुलुकहरूसँगको सन्तुलित सम्बन्धका कारण भारतले युक्रेनमा रूसी युद्धको पनि विरोध गरेको छैन । दुई देशबीचको युद्धको शान्तिपूर्ण समाधानका लागि मध्यस्थता गर्नसमेत भारतले प्रस्ताव गर्दै आएको छ ।

मोदीले गत जुलाईमा मस्को भ्रमण गरेका थिए । रुस भारतका लागि तेल र हतियारको महत्त्वपूर्ण आपूर्तिकर्ता हो । तर मस्को पश्चिमबाट अलग्गिनु र बेइजिङसँगको बढ्दो सम्बन्धका कारण नयाँदिल्लीसँगको साझेदारीमा प्रश्नचिह्न खडा भएको छ । युक्रेन युद्धले भारतलाई हातहतियारका लागि पनि अन्य स्रोतहरू खोज्न बाध्य पारेको छ ।

युरोपमा परम्परागत खरिदकर्ताहरूले छोडेको आवश्यक निर्यात बजारका लागि भारत रूसी कच्चा तेलको विश्वसनीय प्रमुख क्रेता बनेको छ । यसले नाटकीय रूपमा उनीहरूको आर्थिक सम्बन्ध थप मजबुत पारेको ठानिएको छ । त्यसका साथै यसले मस्कोको युद्ध कोषलाई बलियो बनाउन भारतका कारण सहयोग पनि पुगेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *