Tuesday, October 22सत्यम खबर
Shadow

हमासका शीर्ष नेता सिनवार मारिएपछि के इजरायलले युद्ध रोक्ला ?

काठमाण्डौ, ३ कार्तिक – इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा हमास समूहका नेता याह्या सिनवार मारिएका छन् । इजरायल, अमेरिका र युकेले उनी एक वर्षअघि दक्षिणी इजरायलमा गरिएको आक्रमणको मुख्य योजनाकार भएको बताउँदै आएका थिए ।

इजरायली रक्षा बल (आईडीएफ) का अनुसार सिनवार गत बुधबार गरिएको आक्रमणमा मारिएका हुन् । ‘याह्या सिनवार कमाण्डार हुन् र उनी मारिएका छन्,’ आईडीएफका प्रवक्ता डानियल हगारीले बीबीसीसँग भनेका छन् । गत जुलाई ३१ मा इरानको तेहरानमा इस्माइल हानिया मारिएपछि सिनवारले हमासको नेतृत्व गर्दै आएका थिए । हमासले भने सिनवारको मृत्युबारे कुनै प्रतिक्रया जनाएको छैन ।

सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरायलमा गरिएको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । आक्रमणपछि हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये एक नेपालीसहित १ सय १ जना अझै हमासको नियन्त्रणमा रहेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘हमास नेताको मृत्युले गाजा युद्धको अन्य नभइ सुरू भएको’ प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ । नेतान्याहुले सेनाको प्रशंसा गर्दै अबको युद्ध अक्टुबर ७ मा बन्धक बनाइएकालाई रिहा गर्नका केन्द्रित हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘सिनवारको मृत्यु विश्वकै लागि राम्रो दिन’ भएको प्रतिक्रिया दिएका छन् । ‘यो गाजामा युद्धविरामका लागि अघि बढ्ने समय हो । यो युद्ध अन्त्य गर्ने र बन्धकहरूलाई घर ल्याउने समय हो । त्यसका लागि हामी तयार छौं,’ बाइडेनले भनेका छन् ।

त्यस्तै, अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक दलका तर्फबाट राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिसले पनि ‘सिनवारको मृत्यु गाजामा युद्ध अन्त्य गर्ने अवसर भएको’ बताएकी छन् । ‘हमास ध्वस्त भएको छ र यसको नेतृत्व समाप्त भएको छ,’ उनले भनेकी छन्, ‘यो क्षणले हामीलाई गाजामा युद्ध अन्त्य गर्ने अवसर प्रदान गरेको छ ।’

को हुन् सिनवार ?

अबु इब्राहिम भनेर चिनिने सिनवार सन् १९६२ मा गाजापट्टीको खान युनिसस्थित शरणार्थी शिविरमा जन्मिएका थिए । पछिल्लो समय उनी इजरायलको सर्वाधिक खोजीको सूचीमा शीर्ष स्थानमा थिए । अक्टोबर ७ को आक्रमणका मुख्य योजनाकार सिनवार त्यसयता गाजामा देखिएका थिएनन् । खासगरी इस्माइल हानिया, मोहम्मद डेफलगायतका हमास नेताहरू मारिएपछि उनी स्वाभाविक रूपमा दबावमा थिए ।

६१ वर्षीय सिनवार अधिकांश समय गाजापट्टीका सुरुङमा सुरक्षाकर्मीका साथ र हमासले बन्धक बनाएर लगिएका मानिसलाई मानव ढालका रूपमा राखेर बसेको ठानिएको थियो । तर दक्षिणी गाजामा गस्ती गरिरहेका इजारयली सेनासँग संयोगवश आमने सामने हुँदा उनी मारिएको जनाइएको छ ।

सिनवारका आमाबाबु एस्केलोनका थिए । तर इजरायलको स्थापनासँगै उनीहरू पुर्खौली घरबाट विस्थापित भएका थिए । खान युनिस माध्यमिक विद्यालयमा शिक्षा हासिल गरेका सिनवारले पछि गाजाको इस्लामिक विश्वविद्यालयबाट अरबी भाषामा स्नातक गरेका थिए । सिनवारलाई सन् १९८२ मा १९ वर्षको उमेरमा इजरायले पक्राउ गरेको थियो । त्यसपछि सन् १९८५ मा उनी पुनः गिरफ्तार भएका थिए । यही समयमा उनले हमासका संस्थापक शेख अहमद यासिनको विश्वास जितेका थिए ।

सन् १९८७ मा हमासको स्थापना भएको दुई वर्षपछि उनले समूहको आन्तरिक सुरक्षा संगठन अल–मजद स्थापना गरे । त्यतिबेला उनी २५ वर्षका मात्र थिए । १९८८ मा सिनवारले दुई इजरायली सैनिकको अपहरण र हत्याको योजना बनाएका थिए । त्यसपछि उनी सोही वर्ष उनी पक्राउ परे । सिनवारले १९८८ देखि २०११ सम्म गरी २२ वर्ष इजरायली जेलमा बिताएका थिए । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *