
नेपालगन्ज, १३ कार्तिक – बाँके प्रहरीले बुधबार राती नेपालगन्जबाट ठूलो राशिको रकमसहित दशजना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले गएराती नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्क क्षेत्रको बर्ष ४६ को कृष्णप्रसाद वलीको घरमा जुवा खेलिरहेको अवस्थामा २९ लाख ४८ हजार ७ सय रकम सहित १० जना जुवाडेलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी गराउनुभयो ।

पक्राउ पर्नेमा बाँकेका प्रतिष्ठित व्यापारी तथा व्यक्तिहरु रहेको बताइएको छ । पक्राउ पर्नेहरुमा जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ बस्ने सन्तोष थापा, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ बस्ने मेघनाथ कुचबन्दिया, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बस्ने नविन घिमिरे रहेका छन् ।
त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० बस्ने टोप बहादुर शाही, ऐ.ऐ.वडा नं. ४ बस्ने पब्लु भण्डारी, ऐ.ऐ. बस्ने तरुण गौतम, ऐ.ऐ. वडा नं.७ बस्ने रविन राणा, ऐ.ऐ. वडा नं. ४ बस्ने सन्तोष वली, ऐ.ऐ. बस्ने कृष्णबहादुर सुवेदी, ऐ.ऐ. वडा नं.१ बस्ने रहमान मिया रहेका छन् ।
पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाइने प्रहरी उपरीक्षक रानाले बताउनुभयो । सामूहिक रुपमा ठूलो धनराशी बाजी राखेर हारजित हुने गरी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख रानाले बताउनुभयो ।
चाडपर्वको समयमा हुन सक्ने सम्भावित अपराधलाई निस्तेज तथा न्यूनीकरण गर्नका लागि १४ बुँदे विशेष सुरक्षा योजनासहित अगाडि बढेको बाँके प्रहरीले जुवातास नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि चालेको यो पहिलो ठुलो कारवाही हो ।
