Friday, February 14सत्यम खबर
Shadow

चीनसँग जोडिएका तातोपानी र रसुवा नाका ठप्प

पहिरोले क्षतिग्रस्त तातोपानी नाकाको लिपिङ पुल र चीनको केरुङ क्षेत्र
नेपाली व्यवसायीका अर्बौंका सामान बाटोमै अलपत्र, स्याउ, लसुन, आँप, अनारलगायत खाद्यवस्तु कुहिने चिन्ता
काठमाण्डौ, १४ असोज – बाढीपहिरोका कारण चीनसँगका प्रमुख दुई नाका तातोपानी र रसुवाबाट हुँदै आएको आयात व्यापार शनिबारदेखि ठप्प भएको छ । भोटेकोसीमा आएको बाढीले सीमा क्षेत्र नजिकैको अरनिको राजमार्गको लार्चा र लिपिङको मोटरेबल पुल बगाएको छ भने रसुवागढी नाका जोड्ने सडक जताततै छियाछिया बनेको छ ।

तातोपानी र रसुवाबाट व्यापार मात्र ठप्प भएको छैन बिजुली, सञ्चार यातायातको अभावमा स्थानीय बासिन्दा निकै ठूलो त्रासमा छन् । तातोपानीमा पैदल आउजाउ गर्नसमेत नसक्ने अवस्था छ । मालवाहक कन्टेनर बाटैमा अलपत्र छन् भने अर्बौं रुपैंयाँका व्यापारिक सामानको असुरक्षा भएको छ । यसबाट नेपाली व्यापारिले करोडौं रुपैयाँ नोक्सानी बेहोर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।

भूकम्पपछि लगातार चार वर्ष पूर्ण रूपमा ठप्प तातोपानी नाकामा पछिल्लो दुई वर्षदेखि विस्तारै पैठारी कारोबार बढ्दै गएको थियो । निर्यात व्यापार भने चीनले ०७८ सालमा मात्र खुलाएको थियो । तर तातोपानीबाट निर्यात भएको छैन । चीन जोड्ने दुई वटा मोटरेबल पुल बगाएपछि तातोपानी नाका भूकम्पकै समयमा फर्केको सीमा क्षेत्र भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए ।

सीमा क्षेत्र अहिले निकै आतंकित छ । दुवै नाकाको सडक खुल्ने समय अनिश्चित भएपछि नेपाली व्यापारीले आयात गरेका अर्बौं मूल्यका सयौं कन्टेनर व्यापारिक मालवस्तु चीन र नेपाली भूभागमा अलपत्र परेका छन् । नेपालको मात्र नभई तातोपानीबाट कुती र रसुवागढीबाट केरुङ जोड्ने चीनतर्फका सडक र पुल बाढीले बगाएपछि दुवै नाका सञ्चालन अनिश्चित बनेको हो ।

चीनको केरुङ प्रशासनलाई उद्धृत गर्दै नेपाली व्यवसायीले दिएको जानकारीअनुसार चीनतर्फको सडक खुलाउन कम्तीमा एक साता यातायात सञ्चालन नगर्ने निर्णय गरिएको छ । नेपालको रसुवागढीतर्फको सडक खुलाउन तीन स्थानबाट स्काभेटर र डोजर लगाएर काम सुरु गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जनाए ।

रसुवाको स्याफ्रुबेसीदेखि रसुवागढीसम्म करिब १७ किमि क्षेत्रमा सडकको अवस्था ज्यादै नाजुक छ । सडकमाथिबाट आएको पहिरो सकेसम्म छिटो पन्छाउन काम सुरु गरेको खनालले बताए ।

खासगरी दसैंका लागि झिकाइएका स्याउ, अनारलगायत फलफूल र लसुन सयौं कन्टेनर सीमा क्षेत्रको बाटोमै रोकिएका छन् । विशेषतः तयारी पोसाक, जुत्ता, ब्याग, चप्पल, कस्मेटिक जस्ता दसैंमा बिक्री गर्ने गरी झिकाइएका व्यापारिक वस्तु बाटैमा कुन अवस्थामा छन्, यकिन गर्न नसकिएको सम्बन्धित व्यापारीले जानकारी दिए ।

ठूलो परिणाममा व्यापारिक मालवस्तु बाटैमा अलपत्र भएपछि नेपाल हिमालय सीमापार वाणिज्य संघले दुवैतर्फ नाकामा अड्किएका मालवाहक कन्टेनर र पैठारी गरिएका सामानको लगत संकलन सुरु गरिएको बताएको छ ।

तातोपानी नाकाको लार्चा सुक्खा बन्दरगाह, खासा र कुतीमा भएका कन्टेनर तथा केरुङ र रसुवाढीमा भएका कन्टेनरमा लोड गरिएका सामान नेपाल भित्र्याउन व्यवसायीले सरकारी सहयोग अपेक्षा गरेको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीको भनाइ छ । व्यवसायीले आइतबार काठमाडौंमा बैठक बसेर रोकिएका मालवस्तु नेपाल भित्र्याउन यातायात सञ्चालनमा सहयोग गर्न सम्बन्धित निकायमा अनुरोध गरेको संघका वरिष्ठ उपाध्यक्ष तथा व्यवसायी गंगाबहादुर घिमिरे (सागर)ले जनाए । समयमा यातायात सञ्चालन हुन नसके व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपर्ने उनको भनाइ छ ।

झन्डै डेढ सय कन्टेनर सामान तातोपानी सीमा क्षेत्रमा अड्किएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिए ।

कन्टेनरमा रहेका स्याउ, नासपाती, लसुन छोटो समयमै गुम्सिएर कुहिने भएकाले व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *