नेपालगन्ज, १४ असोज – छाडा पशु चौपायाले गर्दा दिनहुँ सडक दुर्घटना भईरहेको यथार्थ कसैबाट लुकेको छैन । सम्बन्धित पक्षहरुको टाउको दुखाईको विषय हाल छाडा पशु चौपाया रहेको पाईन्छ ।
सो विषयलाई समाधान हुने उद्देश्यका साथ स्थानिय तह, ट्राफिक प्रहरी, प्रशासनलाई छाडा व्यवस्थापनको लागि सकस हुने गरेको छ । चौपाय व्यवस्थापनको लागि विभिन्न योजना ल्याएको भएपनि स्थायी रुपमा समाधान हुन सकेको छैन ।
दिउँस मात्र नभई छाडा गाइबस्तुले रातको समयमा पनि दुर्घट्ना गराउने गरेका कतिपय उदाहरणहरु हाम्रो सामु रहेको छ । त्यसरी रातको समयमा हुने दुर्घट्ना कम गर्न प्रहरीले छाडा चौपायामा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाइदिने अभियान सुरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–६ र ४ स्थित सडकमा भेटिने छाडा चौपायलाई समाएर वडा प्रहरी कार्यालय नेपालगन्ज र अस्थाई ट्राफिक प्रहरी पोष्ट फुल्टेक्राबाट खटिएको संयुक्त टोलीले रिफ्लेक्टर स्टिकर टाँसेको छ ।
टल्कने रिफ्लेक्टर स्टिकरले रातको समयमा सडकमा चौपाय रहेको थाहा दिने हुनाले दुर्घटना कम हुने वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले बताए । उनले भने, तर छाडा गाइबस्तुलाई स्टिकर लगाउन सहज भने छैन । ‘हाम्रो प्रयास छाडा चौपाय जति सबैलाई स्टिकर लगाउने हो । तर गाह्रो छ, प्रहरीको युनिफम देखे गाइहरुले झम्टिन खोज्छन् ।’ निरीक्षक बमले भने ‘त्यसैले सिभिल ड्रेसमा गएर फकाइ फकाई लगाइ दिनुपर्ने हुन्छ ।’