Tuesday, October 22सत्यम खबर
Shadow

तीज मिलन तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपालगन्ज, १८ भाद्र – बाँकेको नेपालगन्जमा भेरी साहित्य समाज जिल्ला कार्य समिति बाँकेको आयोजनामा १५९ औँ मोतीराम भट्टको जन्मजयन्ती, तीज मिलन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगन्जको महेन्द्र पुस्तकालय सभाहलमा आयोजित कार्यक्रममा भेरी साहित्य समाज जिल्ला कार्य समिति बाँकेका अध्यक्ष राजकुमार देवकोटाको अध्यक्षता, प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मीको प्रमुख आतिथ्यमा, विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, बिशिष्ट अतिथि भेरी साहित्य समाज केन्द्रिय समितिका निर्वतमान अध्यक्ष तथा सल्लाहकार हरिप्रसाद तिमिल्सिना, प्राज्ञ सदस्य शशिराम कार्की, साहित्यकार तथा शिक्षाबिद् किरण आचार्य, महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादवको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि रेग्मीले पानसमा दीप प्रज्यवलित गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । यसैगरी बिशिष्ट अतिथि अतिथिहरुले मोतीराम भट्टको तस्बीरमा अबीर लगाएर माल्यार्पण गरेका थिए ।

भेरी साहित्य समाज जिल्ला कार्य समिति बाँकेका सचिव गीता सुवेदीद्वारा सञ्चालित कार्यक्रममा समाजकी उपाध्यक्ष इन्दिरा गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्राज्ञ सभा सदस्य शशीराम कार्कीले मोतीराम भट्टको जीवनीको बारेमा चर्चा गरेका थिए । मोतीराम भट्टको जन्म १९२३ साल कुशेऔंसीका दिन भदौ २५ गते काठमाडौँको भोसीको टोलमा भएको थियो । मोतीराम भट्टको वंश कुमाउगढबाट आएको थियो ।

मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माईला सुपुत्रका रूपमा जन्मेका थिए । मोतीराम भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए । ६ वर्ष भएपछि यी काशी पुगेका थिए । त्यसबेला उहाँका पिता पं. दयाराम भट्ट र आमा रिपुमर्दिनीदेवी विशेष कामले काशी बसेका थिए । त्यसपछि मोतीराम भट्टको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्न थाल्यो । त्यहाँ यी फारसी विद्यालयमा भर्ना भए र त्यहीँ बस्दा बस्दै उहाँले फारसी र उर्दू पढ्न थालेका थिए ।

काशीमा उहाँको भेट भारतेन्दु हरिश्चन्द्रसँग भयो, भारतेन्दु मोतीराम झैँ पोख्त रहेका थिए । भारतेन्दुसँग गहकिलो सङगत गर्दै उनले नेपाली साहित्यको सेवा गरे र यी पढाईमा पनि समर्पित भई रहे । मोतीराम भट्ट पछि फारसी, उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अङ्ग्रेजी भाषामा पनि दक्ष हुन थाले । बनारसमा उहाँले हरिश्चन्द्र स्कूलमा अङ्ग्रेजी भाषा साहित्यको अध्ययन गरेका थिए । पढ्दापढ्दै आठ वर्षको उमेरमा बनारसमा नै उहाँ व्रतबन्ध गरियो ।

कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, हरिप्रसाद तिमिल्सिना, शिक्षाविद् किरण आचार्य लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

यसैगरी कार्यक्रममा सर्वदा साहित्य प्रतिष्ठानका अध्यक्ष खगेन्द्र गिरि कोपिला, बालकृष्ण शर्मा, भरतबहादुर रानाभाट, भेरी साहित्य समाज केन्द्रिय समितिका कोषाध्यक्ष राजकुमार थारु, राम चन्दरु आचार्य, इन्दिरा गौतम, अवधी साँस्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णुलाल कुमाल, भेरी साहित्य समाज केन्द्रिय समितिका सदस्य मीना बराल, चरित्रा शाह, मीना ढकाल, पंकज श्रेष्ठ, ब्रम्हकुमार कृष्णबहादुर रानाभाट लगायतले रभना वाचन गरेका थिए ।

यसरी कार्यक्रममा शास्वत आचार्य स्मृति प्रतिष्ठान बाँकेका संस्थापक प्रा.डा. जनार्दन शर्मा आचार्य, साहित्यकार कल्पना पौडेल जिज्ञासु, प्रतिभा साहित्य समाजकी अध्यक्ष चरित्रा शाह, कविराज रेग्मी, भेरी साहित्य समाज केन्द्रिय समितिका महासचिव गीता अर्याल, ज्ञनोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, अर्जुन शर्मा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *