Thursday, March 13सत्यम खबर
Shadow

लुम्बिनीका मन्त्री कुर्मी र सांसद केसीलाई कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन

नेपालगन्ज, १७ भाद्र – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले विभिन्न आरोप खेपेका लुम्बिनी प्रदेशका दुई सांसदलाई कानुनी कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पूर्वका डिबी भनिने धनबहादुर केसीलाई कानुनी कारबाही गर्न मागसहित चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको उक्त पार्टीका जिल्ला सेक्रेटरी अमर खड्काले बताए ।

सोमबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरि नेकपा (बहुमत)का नेताहरुले लुम्बिनीका वन मन्त्री कुर्मी र रुकुम पूर्वका प्रदेश सांसद केसीलाई कानुनी कारबाही गरि पदबाट हटाउन माग गरेका थिए ।

नेकपा (बहुमत)का नेताहरूले आइतबार मात्रै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई त्यससम्बन्धी ज्ञापन पत्र बुझाएका थिए । पार्टीका जिल्ला इञ्चार्ज तिलकको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउँदै उनीहरूले कुर्मी र केसीलाई उनीहरूको कसुर अनुरुप सांसद पदमा रहिरहन कानुन बिपरित रहेको हुँदा तत्काल सांसद पदबाट हटाउन माग गरेका थिए । ज्ञापन पत्र बुझाउनु भन्दा पहिले उनीहरूले प्रदर्शनसमेत गरेका थिए ।

त्यस्तै, उनीहरूले मंगलबार लुम्बिनीका सबै प्रमुख जिल्ला अधिकारीहरूलाई सोही ब्यहोराको ज्ञापन पत्र बुझाउने बताएका छन् । त्यतिगर्दा पनि आरोपित व्यक्तिहरूमाथि कारबाही नभए भदौ २० गते पछि सरकारी गाडी चल्न नदिने लगायका थप आन्दोलनका कार्यक्रमहरू गर्ने जिल्ला सेक्रेटरी अमर खड्काले बताए ।

मन्त्री कुर्मीमाथि बाँकेकी निर्मला कुर्मीलाई अपहरण तथा बन्धक बनाइ बेपत्ता पारेको गम्भीर आरोप छ । जसको विरोधमा बाँकेदेखि काठमाडौंसम्म पुगेर महिला अधिकारकर्मीहरू चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।

त्यस्तै सांसद केसीमाथि किर्ते गरेको अभियोग छ । २०४८ साल असार ६ गते तत्कालीन जिल्ला न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा ३२ वर्ष पहिले अदालतले उनलाई त्यस्तो फैसला सुनाएपछि उनी फरारको सूचिमा रहँदै आएका छन् । सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *