
नेपालगन्ज, ९ भाद्र – प्रत्येक वर्ष झै यस वर्ष पनि भगवान श्री कृष्णको श्री कृष्ण जन्माष्टमी महोत्सव–२०८१ विभिन्न स्थानहरुमा भब्ययता साथ मनाउने तयारी गरिएको छ ।
मोहललाल वैश्य स्मृतिमा नेपालगन्जको मुटु त्रिभुवन चौकमा वर्षौदेखि सम्पन्न हुँदै आईरहेको श्री कृष्णा जन्माष्टी यसपटक भाद्र १० गते अर्थात भोलि सोमबारका दिनदेखि शुभारम्भ गरिने आयोजक संस्थाका अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराएका छन् ।
अध्यक्ष वैश्यले दिएको जानकारी अनुसार ओम शान्तिको सहकार्यमा भगवान श्रीकृष्णको मनोरम, सुन्दर झाँकीसहित कार्यक्रमको शुभारम्भ गरिनुका साथै प्रसाद वितरण गरिने तथा भाद्र ११ गते भगवान श्रीकृष्णको झाँकीसहित सुन्दर लिला लगायत धार्मिक कार्यक्रम सम्पन्न गरिने बताउनुभयो ।
यसैगरी भाद्र १२ गते भारतका प्रसिद्ध जबाबी कीर्तनका कलाकार सचदेवा सराती कानपुर तथा प्रसिद्ध कलाकार रोशनी अन्जानाको प्रस्तृति हुने जानकारी गराउँदै यसमा सहभागिताको लागि सम्पूर्ण सनातनी भक्तजनहरुलाई हार्दिक निमन्त्रणा समेत दिन चाहेको बताउनुभयो ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ स्थित रहेको साहु समाज जिल्ला कार्य समिति एवं साहू समाज युवा समिति बाँकेको आयोजनामा गतवर्ष झैं यस वर्ष पनि श्री कृष्ण जन्माष्टमी, भवन कीर्तन एवं विशाल भण्डारको आयोजना गरिएको छ ।
भगवान श्री कृष्णको जन्मोत्सव भब्य रुपमा मनाउन यही भाद्र ११ गते मंगलबारका दिन सम्पन्न गरिने तयारी गरिएको छ भने छट्टी एवं विशाल भण्डार भाद्र १५ गते शनिबारका दिन सम्पन्न गरिने आयोजक साहू समाज जिल्ला कार्यसमितिले जनाएको छ ।
यसैगरी, तिरुपती बालाजी मन्दिर धाम समिति नेपालगन्जको बाँकेको आयोजनामा आज साँझ ६ बजेदेखि ८ बजेसम्म सत्संग, भजन कृतन गरिने बताईएको छ ।
नेपालगन्जमा रहेको किन्नुराम काशीराम पञ्चायती धर्मशाला टाँगा स्टेण्ड, महेन्द्र पार्क नजिक रहेको स्थानमा उक्त कार्यक्रम सम्पन्न गरिने जनाईएको छ ।
यसैगरी योगेश्वर भगवान श्रीकृष्णको ५२४३ औं जन्म दिवसको उपलक्ष्यमा हवन, प्रवचन, भजनको आयोजना सोमबारका दिन भाद्र १० गते साँझ ७ बजेदेखि बागेश्वरी पार्क योग हलमा गरिने नेपाल आर्य समाज शाखा नेपालगन्जले जनाएको छ ।