
नेपालगन्ज, २६ असार – नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजन तथा प्रेस काउन्सिल नेपालको आयोजनामा एक दिने ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’ कार्यक्रम आज बुधबार नेपालगन्जमा सम्पन्न भएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आज हाम्रो काम गराईले अन्य निकायले हाम्रो कमि कमजोरी निकाल्ने काम गरिरहेको अवस्था विद्यमान रहेको पाईन्छ । हामीले गर्दै आईरहेको पत्रकारिता तथा सामाजिक सञ्जालमा देखिएको अवस्थालाई हेर्ने हो भने हामी सच्चिएर आउनु पर्ने अवस्था रहेको बताउनुभयो ।

हामी सधै नकारात्मक रुपमा सोच राख्नु भन्दा सकारात्मक सोचका साथ सुझावसहित प्रस्तुत हुने अवस्था आईसकेको छ । हामीले अरुमाथि प्रश्न उठाउनुका साथै सुझावसमेत दिन सकेको अवस्थामा सुधार गर्न सकिन्छ, हामीले पत्रकारिताको ट्रेक चेन्ज गर्नुपर्ने बेला आएको छ, के हो, किन हुन सकेन जस्तो विचार गरी कन्टेन्ट तयार गर्नुपर्ने भनी अध्यक्ष बस्नेतले बताउनुभयो ।
हामी प्रेस काउन्सिलमा बसेर सुधार कसरी गर्न सकिन्छ भन्ने तर्फ लागेका छौं, ४०–५० वर्ष पहिलेको जस्तो पत्रकारिताको अवस्थामा बस्ने हो भने सुधार कसरी गर्न सकिन्छ । आजको समयानुसार आफूलाई व्यवस्थापन गर्न सक्नुपर्छ, अध्यक्ष बस्नेतले बताउनुभयो ।

आजको समयमा करौडौं रुपैयाँ अपारदर्शी रुपमा खर्च हुँदै आईरहेको छ । फेसबुक पेज, युट्युब च्यानल लगायतका सार्वजनिक सञ्जाल जो कही दर्ता छैनन्, तिनै मिडियाहरुले स्थानीय निकायबाट लाखौं रकम भुक्तानी लिईरहेका हुन्छन् तर त्यसबारे हामी बोल्न सम्म सकेको हुँदैनौं, त्यसबारे तपाईहरुले प्रेस काउन्सिलमा उजुरी दिनुस्, हामी कारवाहीको लागि सहकार्य गर्ने छौं, गलत प्रवृत्ति विरुद्ध आवाज उठाउनु पर्छ, हामीले सरकारलाई सुझाव नै दिएका छौं, राज्यले सूचनाहरु सञ्चारगृहलाई दिनुपर्छ, त्यो उनको अधिकार हो, स्थानीय निकायबाट नै त्यसको सुरुवात हुनुपर्छ, प्रिन्ट मिडिया बचाउनका लागि सञ्चालकहरुले पनि यसलाई अवसरको रुपमा लिनु पर्छ, अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रेस काउन्सिल सदस्य शरद अधिकारीले ‘हामीले पत्रिकामा अलिअलि नाम आउने भएपछि, रेडियोमा अलिअलि बोल्न थालेपछि, टिभिमा अनुहार देखिने भएपछि, हामी आफै जान्ने छौं भन्ने खालको धार हामीमा हुन्छ, अहिलेको नयाँ पुस्तालाई यस्तो भन्दा सायद कुटपिट हुन्छ होला । यो भन्नुको अर्थ हामीले आजको युग जस्तै प्राविधियुक्त हुन सक्नु पर्दछ’ बताउनुभयो ।
अहिले हाम्रो पत्रकारिता टाईटानिक जहाज डुबीरहेको अवस्था जस्तै छ, त्यसबाट उदार कसले गर्छ ? यो पेचिलो प्रश्न हामी बीच रहेको सदस्य अधिकारीले भने ‘हामीले आचारसंहिता अनुसार आफ्नो गलती सच्याउन तत्पर हुनुपर्छ, आजको प्राविधिको दुनियामा डिलिट भन्ने कुरा हुँदैन । गलती भएको समाचार डिलिट गर्नुभन्दा सुधार वा गलती सच्चाउने तत्र्पता हामी भित्र हुनुपर्दछ ।’

नेपालगन्ज दैनिकका प्रकाशक÷सम्पादक झलक गैरेले यो ३ दशकको युगबाट अब हामी नयाँ युगमा प्रवेश गर्दैछौं, हामी युटुबसहित सामाजिक सञ्जालको प्रभाव बारे अगाडी बढ्दैछौं, प्रेस काउन्सिलले युटुबसहित सामाजिक सञ्जाललाई पत्रकारितामा कसरी समेट्न सकिन्छ भन्नेतर्फ लागि परेको बताउनुभयो ।
कार्यक्रममा १०० बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।