कोहलपुर, ५ असार – न्यु डाँफे स्पोर्टस क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा जित हासिल गरेको छ ।
मंगलबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा न्यु डाँफेले रोयल नेपालगन्ज फुटबल क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि अभय थापाले २८ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । खेलमा थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । यसैगरी ओशोनिक क्लब र जय किसान स्पोर्टस क्लबबिचको खेल गोल रहित बराबरीमा सकिएको छ । खेलमा जय किसानका मिलन बाठा मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ । लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।
यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।
समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उपविजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।
बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बुधबारको पहिलो खेलमा धम्बोझी क्लब र मिलन युवा स्पोर्ट्स क्लबचि हुनेछ । दोस्रो खेल कारकादो युवा स्पोर्टस क्लब र नवदुर्गा युवा क्लबबिच हुनेछ ।