
नरैनापुर, ५ असार – केही समय अगाडी बिकट क्षेत्रको नामले पहिचान कमाउन सफल नरैनापुर गाउँपालिका हाल भ्रष्टाचार र ठगीमा नाम कमाउन सफल पालिकाको उपाधी पाउन सफल भएको छ । केही समय अगाडी मात्र शिक्षक भर्नामा ब्यापक आर्थिक चलखेल गरिएको समाचार सेलाउन नपाउँदै ६ वर्ष अगाडी सोलार प्यानल वापत ५ हजारका दरले उठाईएको रकम ठगी प्रकरण सामुन्ने आएको छ ।
यस बारे यस अघिको पनि प्रकाशित समाचारमा केही वार्डहरुलाई मात्र समेटिएको थियो । तर नरैनापुर पालिका भित्र रहेको ६ वटै वार्डहरुका बासिन्दाहरुबाट करीब ५० लाख भन्दा बढी रकम उसूल गरी ठगी गरिएको थियो । जुन हालसम्म केही गरिब निमुखा जनता बाहेक कसैले पाउन सकेका छैनन् ।
उक्त रकम सोनार प्यानलको नाममा उठाउन वडाका जनप्रतिनिधि, पालिका प्रमुख ईस्तियाक अहमद शाहका आसेपासेहरुलाई प्रयोग गरिएको स्थानीयहरुको भनाई रहेको छ । सो बारे स्थानीय प्रहरी, प्रशासन समेत मौन रहेको स्थानीयहरुको आरोप रहेको छ ।
पालिकाका स्थानीय बासिन्दाहरुको भनाई अनुसार सोलार प्यानलको नाममा दिईएको पैसा बारे जसलाई पैसा बुझाएका थियौं उसलाई पटक पटक सोलार प्यानल कहाँ छ भनी प्रश्न गर्दा उसले उक्त पैसा मैले उठाएको मात्र हो, पैसा पालिका प्रमुख ईस्तियाक अहमद शाहलाई दिएको बताउँछन् ।

तर पालिका प्रमुख शाहलाई सोलार प्यानलको पैसा बारे सोधदा उनले केही दिनमा उपलब्ध गराउँछु भन्ने गरेका छन् भने कतिपय स्थानीयलाई मलाई पैसा दिनु भएको छैन, जसलाई पैसा दिनु भएको छ, उसैबाट सोलार प्यानल माग भनी जवाफ दिने गरेको स्थानीयहरुको भनाई रहेको छ ।
नरैनापुर गाउँपालिकामा सिण्डीकेट जस्तै कायम रहेको छ । हाल पालिकाको भवन निर्माण भईरहेको करीब ५ वर्ष बढी हुन लाग्दा समेत निर्माण कार्य सम्पन्न भएको छैन भने उक्त भवन निर्माण कार्यमा पटक पटक गरी ३ पटक भन्दा बढी ठेक्का दिईएको स्थानीयहरु बताउँछन् ।
त्यसैगरी शिक्षा क्षेत्रमा पछाडी परेको नरैनापुर गाउँपालिका भित्र शिक्षा माफियाहरु नै लगि परेका छन् । पालिका भित्र रहेको मदरसा, विद्यालयमा विद्यार्थीहरुको लागि सरकारद्वारा उपलब्ध गराउने दिवा खाजामा समेत आर्थिक चलखेल भईरहेको आरोप लगाउने गरेका छन् ।
त्यति मात्र नभई विद्यालय वा मदरसामा शिक्षक भर्नामा समेत पैसाको लेनदेन हुने गरेको भएपनि जनप्रतिनिधिदेखि कर्मचारीसम्मको मिलेमतो हुने गरेको स्थानीयहरु बताउँछन् ।
स्थानीयले दिएको जानकारी अनुसार कतिपय शिक्षकहरु विद्यालय वा मदरसामा हाजिरी लगाउन मात्र जाने गरेका छन् तर विद्यालय भित्र अध्ययनपन सम्म नगराई मासिक तलब खाने गरेको आरोप लगाएका छन् ।
हाल सोलार प्यानलमा पनि जो शिक्षा माफिया भनी समाचार प्रकाशित भयो सज्जाक खाँ उनकै भाई कमसर खाँको नाम मुछिएको छ । यस बारे कमसर खाँसँग समेत समाज जागरणको टीमले फोनमार्फत सम्पर्क गरेको अवस्थामा उनले सोलार प्यानलको लागि गाउँलेहरुबाट पैसा आफूले उठाएको तथा उक्त उठाईएको सम्पूर्ण पैसा पालिका प्रमुख मो. ईस्तियाक अहमद शाहलाई बुझाउँएको जानकारी गराउँदै अब केही दिनमा सोलार प्यानल वापत जस जसले पैसा जमा गरेका छन् उनलाई पैसा फिर्ता गर्ने बताएको पनि हप्ता दश दिन बितिसक्दा पैसा फिर्ता नभएको अवस्था रहेको छ ।
सोलार प्यानल वापत आर्थिक ठगी गर्नेहरुले पटक पटक अस्वासन दिने गरेको हुँदा नै स्थानीय जनता कानुनतः कुनै ठोस कदम चाल्न नसकेको स्थानीयहरुको भनाई रहेको छ । अब सोलार प्यानल वा पैसा पाईन्छ की भनेर आश गर्दा गर्दा करीब ६ वर्ष बिति सकेको छ तर पनि हात केही लागेको छैन, अब हामी कानुनी प्रक्रियामा जाने निश्चित भएको बताउँछन् ।
गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहको निर्देशनमा ६ वटै वार्डबाट ५० लाख बढीको रकम संकलन भएको तर ६०० जनाले सौर्य ऊर्जा र पैसा दुबै नपाएको ठगी पीडितहरुको गुनासो रहेको छ । गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहको निर्देशनमा वडा नं. १ मा जलालू खाँ, आरिफ अन्सारी, वडा नं. ३ मा मुस्ताक साई, वडा नं. ४ मा चाँदे खाँ, वडा नं. ५ मा सज्जाक खाँको भाई कमसर खाँ, अधिकारी भन्ने ईसहाक खाँ, वसिम खाँ लगायतले सौर्य ऊर्जा दिने प्रलोभन देखाएर रकम ठगी गरेको स्थानीयहरुको भनाई रहेको छ ।
पालिका प्रमुख शाहलाई फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।