
काठमाण्डौ, ४ कार्तिक – सरकारले कोरोना संक्रमितको शव परिवारले नै अन्त्येष्टि गर्ने गरी मापदण्ड परिमार्जन गरेसँगै संक्रमणको जोखिममाथि प्रश्न उठेको छ । यसअघि मृत्यु भएका संक्रमितको शव नेपाली सेनाको टोलीले विशेष सतर्कताका साथ व्यवस्थापन गर्दै आएको थियो ।
तर पछिल्लो समय धेरै संक्रमितहरूको मृत्यु हुन थालेपछि शव व्यवस्थापनमा कठिनाइ भएको भन्दै स्वास्थ्य मन्त्रालयले परिवारले नै शवको अन्त्येष्टि गर्ने गरी मापदण्ड संशोधन गरेको हो ।
कतिपय विज्ञहरूले भने सरकारले परिवारलाई नै संक्रमितको शव अन्त्येष्टि गर्न दिँदा त्यसबाट थप संक्रमण फैलिने जोखिम रहेको चेतावनी दिएका छन् ।

कोरोना संक्रमित कै उपचारमा खटिएका एक विज्ञ भन्छन्, ‘जोखिम नहुने भए यत्रो महिनासम्म किन सेनालाई खटाउनु पर्थ्यो ? शवलाई छुन समेत दिइँदैनथ्यो । पहिले सर्ने अहिले नसर्ने भन्ने हुँदैन न नि !’
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि विशेष सावधानी अपनाउन चुके त्यसबाट संक्रमण फैलिने जोखिम रहने बताउँछन् ।
त्यसैले यदि परिवारले नै शवको अन्त्येष्टि गरे पनि अनिवार्य मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने उनको सुझाव छ । शवबाट कोरोना सर्ने यकिन नभए पनि जोखिम भने सधैं रहने उनको तर्क छ ।
डा. पुनका अनुसार संक्रमितको मृत्युअघि नाकबाट बग्ने पानी वा कुनै तरल पदार्थबाट संक्रमण अरूमा सर्नसक्ने हुन्छ ।
‘संक्रमितको मृत्यु हुनुअघि कहिलेकाहीँ नाकबाट पानी वा ¥याल बग्ने गर्छ र शवलाई खाली हातले छोएर फेरि हात नाक, मुख र आँखामा लैजाने गर्दा त्यसबाट संक्रमण सर्ने जोखिम हुन्छ,’ उनले भने ।
त्यसैले शवको अन्त्येष्टिमा सहभागी सबैले अनिवार्य जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनी सुझाउँछन् ।
त्यसका लागि सकेसम्म कम व्यक्ति सहभागी हुने, भौतिक दूरी कायम गर्ने, शवलाई जथाभावी नछुने र मास्क र पञ्जाको अनिवार्य प्रयोग गर्नुपर्ने डा. पुन बताउँछन् । साथै, अन्त्येष्टिमा सहभागी भएर फर्केपछि आफूले लगाएको लुगा सरसफाइ गर्दा पनि संक्रमणको जोखिम कम हुने उनको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शवबाट संक्रमण सर्ने जोखिम रहे पनि विशेष सावधानी अपनाए त्यसबाट संक्रमण नसर्ने दाबी गरे । त्यसका लागि अनिवार्य मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
प्रवक्ता गौतमले भने, ‘शवले खोक्दैन । शवले ह्याछ्युँ गर्दैन । त्यसैले सर्ने सम्भावना एकदम कम छ । त्यसैले मास्क लगाउने, पञ्जा लगाउने र प्लाष्टिकले बेरेर अन्त्येष्टि गर्ने ।’ उनले सेनाले मात्र शव व्यवस्थापन गर्दा ढिलाइ भएको भन्दै यस्तो निर्णय गरेको जिकिर गरे ।
काठमाडौंमा समयमै सेना आउनसक्ने भए पनि जिल्लाहरूमा भने समयमै सेना आएर शव व्यवस्थापन गर्न गाह्रो रहेको उनको भनाइ छ।
‘जिल्लामा सेनाको व्यारेक कहाँ हुन्छ ? आज बोलाउँदा भोलि आइपुग्ने स्थिति हुनसक्छ । त्यसैले सर्वसाधारण कै अनुरोध आएर पनि उक्त निर्णय गरिएको हो,’ उनले भने ।
प्रवक्ता गौतमले पहिले मानिसहरू संक्रमितको शवलाई छुन डराए पनि अहिले भने सबैलाई थाहा भएको जनाए ।
उनले भने, ‘माघ–फागुनतिर कोरोना पोजेटिभलाई डाक्टर नर्सहरूले त छुन मान्दैन्थे, अब अरूको के कुरा गर्नु ! तर अहिले त मान्छेलाई धेरै कुरा थाहा भएको छ ।’ (सेतोपाटी)
