कोहलपुर, २१ जेठ – एफसी संघारी नेपालगन्ज र न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आईतबार बिहान भएको खेलमा एफसी संघारीले सिटी युथ क्लब कोहलपुरलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दैै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । बेलुका भएको खेलमा न्यु दर्पणले न्यु नलेज स्पोट्र्स क्लबलाई ४–० ले हरायो ।
अब सेमिफाइनलमा एफसी संघारीले सोमबार नेपालगन्ज–११ स्पोटिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । न्यु दपर्णले कंचनजंगा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
आइतबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा एफसी संघारीका उमेश बुढाथोकीले ४० औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर सिटी युथका क्षितिज थापा मगरले ४८ औं मिनेटमा गोल गदै खेल बराबरी गनु भएको थियो । टाइब्रेकरमा एफसी संघारीका नरेन्द्र शाह, रोहन खत्री, नन्दलाल पुन मगर, अमर श्रेष्ठले गोल गर्नु भएको थियो । सिटीको तर्फबाट क्षितिज थापामगर, टेकेन्द्र विसी र हेमन्त घर्तीले मात्र गोल गर्नु भयो ।
आइतबार बेलुका भएको खेलमा न्यु दर्पणको जितमा सुदिप विकले १८ औं मिनेट, हनव सुनारले २९ औं मिनेट, अभय थापाले ३७ औं मिनेट र विधान सुनारले ६९ औं मिनेटमा गोल गर्नु भएको थियो । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।
प्रतियोगितामा नेपालगन्ज–११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यु दपर्ण युवा स्पोट्र्स क्लब, न्यु नलेज स्पोट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको छ ।