
नरैनापुर, २३ चैत – बाँकेको विकट पिछडिएको क्षेत्रको रुपमा केही समय अगाडी पहिचान कमाएको नरैनापुर गाउँपालिकामा रहेको सामुदायिक वन क्षेत्र कब्जा गर्न खोज्दा विवाद श्रृजना भएको छ ।
स्रोतले दिएको जानकारी अनुसार भूमिहीन संघर्ष समितिले बाहिर जिल्लाबाट करीब ४०० बढीलाई सो क्षेत्रमा ल्याएर सामुदायिक वन कब्जा गर्ने गरी बस्न खोजेपछि स्थानीयहरुले विरोध गर्दा विवाद श्रृजना भएको बताईएको छ ।

बाँकेको नरैनापुर वडा नं १ स्थित गरीब नवाज सामुदायिक बनको जग्गा भूमिहीनको नाममा कब्जा गर्न खोजेपछि कटकुईयामा शुक्रबार दिउँसो तनाव उत्पन्न भएको छ ।
कब्जा गर्न खोज्ने र स्थानीयबीचको विवादले तनाव उत्पन्न भएको हो ।
बाहिरी जिल्लाबाट आएका करिब ४०० जना व्यक्तिले अनाधिकृत कब्जा गर्न खोजेपछि झडपको सम्भावना उत्पन्न भएको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला वन कार्यालय प्रमुख डिभिजन वन अधिकृत अजीत कुमार कर्णले दिएको जानकारी अनुसार बाहिर जिल्लाबाट ६–७ बसमा करीब ४–५ सय जनाले त्यहाँ पुगेका तथा तिनीहरुलाई त्यस सामुदायिक वन क्षेत्रमा बास्न नदिने स्थानीयहरु कै प्रतिकार भएपछि हामीले पनि सहकार्य गरिरहेका छौं, त्यसमा प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक वनका पदाधिकारी लगायत सबै जनाको सहभागिता रहेको छ भने करीब आधाभन्दा बढी अहिले फिर्ता भईसकेका छन् भने बाँके फिर्ता हुने क्रममा रहेको बताउनुभयो ।
यसैगरी, भोजभगवानपुरका ईलाका प्रहरी कार्यालय प्रमुखले दिएको जानकारी अनुसार झडव हुने अवस्था नभएको हामीले सामान्य पारिसकेका छौं भने अगुवा नेताहरु मध्ये केहीलाई नियन्त्रणमा समेत लिईसकेको बताउनुभयो ।