
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले आफ्नो फेसबुक पेजमा शुक्रबार पोष्ट गर्दै एसपी बोहरामाथि छानविन गर्न प्रहरी वरीष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन गरिएको जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको फेसबुक पेजमा ‘यस लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र बोहोरा लगायत अन्य प्रहरी कर्मचारीहरुको बारेमा स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन भएका समाचार र विभिन्न टिकाटप्पणीहरुका सम्बन्धमा यस कार्यालयको विशेष ध्यानाकर्षण भएको छ’ उल्लेख गरिएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकारका संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल पत्रकार महासंघ र अन्य आस्थाका संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने कार्यको घोर भत्र्सना गरेका छन् ।
महासंघ सचिव कमल डाँगीले एक छुट्टै विज्ञप्ती तथा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य र प्रगतिशील पत्रकार पत्रकार संघका संयोजक तिलक गाउँलेले संयुक्त विज्ञप्ती प्रकाशित गरी निन्दा समेत गरेका छन् ।

“आफूसंग सम्बन्धित समाचार प्रकाशित भएको विषयमा प्रहरी उपरीक्षक बोहराले सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाइनका सम्पादक भण्डारीलाई समाचार रोक्न धम्क्याए ।
कानुन कार्यान्वयन गर्ने जिम्मेवार पदमा आसिन ब्यक्तिले आफ्नो पदीय मर्यादा र जवाफदेहिता विर्सिएर समाचारका समाचारको विषयलाई लिएर हतोत्साहित गर्ने र आतंकित पार्ने कार्यको घोर निन्दा गर्दछौं,” विज्ञप्तीमा भनिएको छ ।
प्रहरी उपरीक्षक बोहरामाथि कारवाहीको माग समेत गरिएको छ । पछिल्लो समय पत्रकारमाथि निरन्तररुपमा भइरहेको आक्रमणका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न स्थानीय प्रशासन समक्ष माग पनि गरिएको छ ।

समयमै नसच्चिए प्रेस स्वतन्त्रता विरोध कार्य विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । पत्रकार भण्डारीले बोहराले तस्करसंग पैसा उठाउन टिम नै बनाएर परिचालन गरेको समाचार सम्प्रेषण गरेका थिए ।
यस्तै इन्सेक, बार लगायत मानव अधिकारकर्मी, कानुन व्यवसायी र नागरिक समाजका संघसंगठन एवम् प्रतिनिधिहरुले पनि संयुक्त विज्ञप्ती निकालेर भण्डारीको सुरक्षाको प्रत्याभूति गराउन र संविधान प्रदत्त अधिकारको सम्मान गर्न ध्यानाकर्षण गराएका छन् ।
यसबारे जिल्ला प्रहरी प्रमुख एसपी सुभाष बोहरासँग बुझ्दा उहाँले लुम्बिनी प्रदेश प्रहरी कार्यालयले छानबिन गर्ने भएको हुँदा केही बोल्न मिल्दै, कसैले के लेखेको छ त्यो भन्दा सत्यतथ्य लेख्नु पर्छ, कसैको चरित्र हत्या हुने गरी भनाई कै आधारमा लेख्नु उचित हुँदैन, बाँकी सत्यतथ्य छानबिन समितिमार्फत हुने बताउनुभयो ।
