
एक दिन साँझपख केही मान्छेले एउटा स्ट्रेचर हाम्रो घरअगाडि बिसाए । त्यहाँ एक जना महिला सुतेकी थिइन् ।
उनलाई बेथा लाग्न थालिसकेको थियो । आमाले भन्नुभयो, ‘डेलिभरी यहीँ गराउनुपर्छ ।’
उहाँले हतारिँदै डेलिभरी गराउन आवश्यक पर्ने सबै सामान निकाल्नुभयो र मलाई लाइट बाल्न बोलाउनुभयो । उहाँले गरेका सबै काम मैले हातमा लाइट बोकेर हेरेँ । महिला पीडाले चिच्याउँदा मेरो हात हल्लिन्थ्यो । लाइटको प्रकाश यताउता हुन्थ्यो । त्यसको केही घन्टामा बच्चा जन्मियो । घन्टौंको उनको पीडादायी रुवाइ रोकियो । शान्त हुँदै गर्दा उनले कोही रोएको आवाज पर्खिइन् ।
बच्चा रोएन ।

मलाई जन्मिएको बच्चा रूनुपर्छ भन्ने थाहा थिएन । आमाले आत्तिँदै भर्खरै जन्मिएको बच्चालाई हातमा लिएर यताउता हल्लाउनुभयो । बच्चा
रोएन । सबैतिर चकमन्न भयो । आमाले उसलाई रूवाउने चेष्टा गर्दै एक हातले उसका दुवै खुट्टा समाएर मुन्टो उँधो पारेर झुन्ड्याउनु भयो । र, तिघ्रामा दुई–तीन पल्ट ग्लोब्स् लगाएका हातले प्याट–प्याट हिर्काउनुभयो ।
मैले त्यतिन्जेल उहाँको हातमा लाइट बालेँ ।
सबैलाई बच्चा रोएको सुन्ने पर्खाइ थियो । अर्धबेहोस सुत्केरी, मुन्टो उठाएर आमाको हातमा हेर्दै थिइन् । उनलाई त्यस बेला अरू कुनै खबर चाहिएको थिएन । केवल आफ्नो बच्चा रोएको सुन्न मन थियो । सबैलाई बच्चा रोएको सुन्न मन थियो । एकछिनको शून्यतापछि आमाले तिघ्रामा हानेको प्याट–प्याट आवाज सुनेर ब्युँझिए जसरी बच्चा ब्युँझियो । रोयो पनि । तिखो स्वरमा ऊ रोएको सुनेपछि वरपर भएका सबैको अनुहार फेरियो । सबै खुसीले हाँसे । बच्चाको आँसुले त्यतिन्जेल पर्खाएपछि बल्ल हाँसोलाई बोलायो ।
त्यतिन्जेलसम्म कसैले पनि के जन्मियो भनेर सोधेन । सबैले बच्चा रोएपछि मात्र के जन्मिएछ भनेर हेरे । त्यसपछि मात्र थाहा भयो, छोरी । आँसुले त्यतिन्जेल पर्खाएपछि बल्ल जन्मिनेको लिंग छुट्यायो । अर्थात्, आँसु लिंगभन्दा पहिला
जन्मियो । त्यो सबै दृश्य मैले आफ्नै हातमा लाइट बोकेर हेरिरहेँ। सबै थोक सपनाजस्तो लाग्यो । सोचेँ, ‘म पनि त्यसरी नै त जन्मिएँ होला । म पनि त्यसरी नै त रोएँ होला ।’
बच्ची रोएपछि मात्र उनी जीवित रहेको पत्तो लागेजस्तै म रोएपछि मात्र म जीवित रहेको पत्तो लाग्यो होला । मेरो पहिलो रुवाइ मेरो पहिलो भाषा थियो होला । मैले रोएर सबैलाई त्यसरी नै आफू ज्युँदो भएको भनेँ होला ।
बच्ची रोएपछि मात्र उनी छोरी भएको देखिएजस्तै म रोएपछि मात्र म छोरा भएको पत्तो लाग्यो होला । वा, मैले रोएको आवाज मात्र सुनेर ‘छोरा’ वा ‘छोरी’ छुट्याउन नसक्नेलाई छोरा हुँ भनेर चिनाउन आफ्नो शरीर देखाएँ होला ।
आँसु बच्चाको सबभन्दा पहिलो भाषा हो । बच्चाको लिंगभन्दा पहिला उसको आँसु खोजिएको हो । रोएपछि मात्र बच्चा जीवित भएको पत्तो लागेको हो । रोएपछि मात्र हाँसो आएको हो ।
म त्यस बेला यी कुरा बुझ्न सक्ने उमेरमा थिइनँ । यी कुरा बुझ्ने हुन मलाई कसैले मैले बुझ्ने भाषामा भनिदिनु पर्थ्यो । वा, मैले यो जवाफ आउने गरी कसैलाई कुनै प्रश्न सोध्नुपर्थ्यो । मैले सोधिनँ । कसैले जवाफ दिएन । बरू म हुर्किएर ठूलो हुँदै जाँदा पटकपटक कसैले मेरो कान नजिकै आएर आएर मलाई भनिरह्यो, ‘तिमी त छोरो मान्छे पो त । छोरो मान्छे रूनु हुँदैन ।’
मलाई छोरो मान्छे रूनु हुँदैन भन्ने थाहा
थिएन । मेरो कान नजिकै आएको मान्छेले आफ्नो वरपर धेरै मान्छे भएको सान देखाउँदै थप्यो, ‘छोरो मान्छे भएर यस्तो कमजोर भएको अरूले देखे भने के भन्छन् ?’ म पहिला त छोरो मान्छे हुन डराएँ । त्यो नहुन सम्भव नभएपछि रून डराएँ ।
सास फेर्नेबाहेक रूने मैले जीवनमै सिकेको पहिलो सीप थियो । त्यही सीपलाई पनि मैले अरूको डरले प्रयोग गर्न सकिनँ । जन्मिनासाथ त म अरूका लागि रोएको थिएँ । जन्मिएर हुर्किएपछि अरूको डरले रून सकिनँ । निक्कै ठूलो हुन्जेल पनि मनमा प्रश्न आइरह्यो, ‘के रूनु साँच्चै कमजोरी हो त ?’ यो प्रश्न मैले कसैलाई सोध्न सकिनँ । आज यतिका वर्षपछि थाहा पाएको छु, त्यो प्रश्न नै गलत रहेछ । त्यो घटनापछि थाहा पाएको छु, गलत प्रश्नको जवाफ साँचो उत्तरले दिँदैन ।
मलाई यति थाहा पाउन लामो समय लाग्यो ।
सानोमा मलाई अरूको भन्दा छिटो आँसु आउँथ्यो । अरूको भन्दा छिटो चित्त दुख्थ्यो । कसैले माया नगर्दा पनि रून्थेँ । कसैले धेरै माया गर्दा पनि रून्थेँ । त्यति बेला रूँदा आफू कसको वरपर रूँदैछु भन्ने वास्ता हुँदैन थियो । रोएर फकिएपछि आफू रोएको कसैले देखे कि भनेर यताउता हेर्नु पर्दैन थियो । त्यस बेला रूनलाई अरूले के भन्छन् भन्ने त सोच्नै पर्दैन थियो ।
आफूले गरेको कुनै काम कसैले के भन्छन् भन्ने कुरा सोच्न नपर्नु पनि कत्रो ठूलो स्वतन्त्रता
हो ! त्यस बेला रोएकै कारण कसैले ‘कमजोर’ भन्थेनन् । आफू भएर बाँच्दा कसैले कमजोर नभनिदिनु कत्रो ठूलो स्वतन्त्रता हो ! सानो हुन्जेल आँसु र हाँसो सँगै थिए । रूँदारूँदै सर्लक्कै हाँस्न मिल्थ्यो । आँखामा टिलपिल आँसु भइभई हाँस्दा आँसु पनि हाँसेरै टल्किन्थ्यो । हाँस्दाहाँस्दै रोएकोमा हीनताबोध हुँदैन थियो । रूँदारूँदै हाँसेकोमा हीनताबोध हुँदैन थियो ।
हाँसो र आँसुको लिंग छुट्टिएको थिएन । प्राकृतिकबाहेक अनावश्यक कारणले लिंग नछुट्टिनु कत्रो ठूलो स्वतन्त्रता हो ! जसै हुर्किँदै गएँ, आँसु लुकाउन थाल्नुपर्ने भयो । आँसु निकाल्नुभन्दा पहिला सोच्नुपर्ने भयो । आँखा भरिएर आँसुको ढिक्को झर्नै लाग्दा पनि त्यसलाई च्यापेर भित्रै तान्नुपर्ने भयो ।
म छोरो मान्छे भएँ । मेरो आँसु छोरो मान्छे भयो । अब्राहम लिंकनले आफ्नो छोराको स्कुलमा ‘उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झार्न लाजमर्दो कुरा होइन भनिदिनुुस्’ भन्दै लेखेको चिठी झुटो भयो । हरेकपल्ट रून मन लागेर पनि नरून खोज्दा–खोज्दा, मभित्रको आँसु भित्रै खुम्चियो । मलाई वरपर रूने विषय छन् भन्ने नै थाहा हुन छाड्यो । धारामा पानी आउने मूल कसैले काटिदिएजस्तो
भयो । सँगै रून सक्ने साथी घट्दै घट्दै गए । म रून्छु भन्ने कुरा जान्ने साथी पनि घट्दै घट्दै गए । नयाँ बनेका कसैलाई मैले त्यो कुरा सुनाउन सकिनँ ।
कसैलाई आफू के–के हुन सक्छु भन्ने सुनाउन नपाउनु कत्रो ठूलो पीडा हो ! रोएको देखाउन मन लाग्न छाडेसँगै मैले मान्छे रोएको पनि देख्न छाडेँ ।
धेरैपल्ट आँसु आँखामा भरिएर आउँथ्यो । मनलाई छुने फिल्मको दृश्यले आँखा झिमिक्क पार्दा खस्ने गरी आँसु पठाउँथ्यो । तर त्यस बेला आँखा झिमिक्क पा¥यो भने शरीर भष्म हुनेजसरी म
डराएँ । ‘जन्मिँदा रूँदै आएको…’ म पहिला पहिला आफ्नो आँसुलाई ‘डिफेन्ड’ गर्न खोज्थेँ । ‘रून्चे’ भनेर जिस्काउनेलाई ‘रेडिमेड’ जवाफ दिन्थेँ, ‘मेरो दाहिने आँखाभित्र कोठी छ । आमाले भन्नुभएको आँखामा कोठी हुने मान्छे धेरै रून्छ ।’ जब भिडले ‘त्यसो भए त नांगै जन्मिएको मान्छे, सार्वजनिक स्थानमा नांगै हिँड्नुपर्दो’ भनेर जवाफ दिन थाल्यो, मैले त्यो तर्कसँग जोरी खोजिनँ ।
नबुझेको संस्कृतको मन्त्र दोहो¥याए जसरी पटकपटक दोहो¥याएँ, ‘छोरो मान्छे भएर रून
हुँदैन ।’ रून त जन्मिँदा फेरेको साससँगै सिकेको
थिएँ । तर, फोक्सो बढ्दै गएपछि सास दबाएर आँसु रोक्न सिकेँ । सामाजिक हुनलाई आफूभित्रको समाजसँग असामाजिक भइदिएँ । बलियो देखिन भन्दै आफूभित्रको कमजोर मनलाई शासन गरेँ ।
म सजिलै रून सक्ने मान्छे, अनेक प्रयत्न गरेर सजिलै नरूने बनेँ । सजिलै जे हुन सक्ने हो त्यो नभएर सजिलै जे हुन नसक्ने हो त्यो हुनु कत्रो ठूलो पीडा हो ! मैले आफ्नो मन पग्लिएर आएको आँसु देख्दा अर्काको आँखाले के सोच्ला भन्ने सोचेर सबै थोक दबाएँ । अनि आफ्नै आँखाभित्र छोपिएँ । आफू आँसुको बाँध भएँ । त्यो बाँध फुटाएर आफूबाट निस्किन मलाई धेरैवटा बिहान पर्खिनुप¥यो ।
हरेक दिन बिहानीपख ब्युँझिँदा उसको कोठाबाहिर चरा कराएको आवाज आउँथ्यो । मलाई तन्द्रामा हुँदा चराको आवाज सुन्न मन पर्थ्यो ।
त्यो दिन मैले थाहा पाउँदा चराको आवाजसँगै कोही रोइरहेजस्तो सुनेँ । के भएछ भनेर आँखा खोल्दा मसँगै सुतेको साथी रोइरहेको थियो । मैले ऊ रोइरहेको थाहा पाएँ भन्ने लागेपछि ऊ मतिर फर्कियो र मलाई झ्याप्पै अँगालो मा¥यो । उसले त्यति कसिलो अँगालो मारेको देखेर म आत्तिएँ । उसलाई के
भयो ? उसले अँगालो मारीमारी रूँदैरूँदै भर्खरै भएको ब्रेकअपको सबै पीडा मलाई सुनायो । उसका बोली धेरै रात भिजेको माटो धस्सिएर झरेजसरी झर्दै गए । उसलाई सुन्दा सुन्दै वर्षौंदेखि नरोएर अग्लो बनाएका आँसुका डिलहरू भत्किए ।
उसको ब्रेकअप भएको मलाई थाहा थियो । ऊ एक्लै नहोस् भनेरै म सँगै बस्ने गरी उसको कोठा गएको थिएँ । उसलाई मसँग केही भन्नुछ भन्ने मलाई थाहा थियो । तर, त्यसलाई कसरी कोट्याउने, थाहा थिएन । बल गरेर कुरा भन्न लगाउन मन थिएन । उसलाई पनि मलाई भन्न मन लागेको कुरा मैले कसरी सुन्छु भन्नेमा दुविधा भएको हुन सक्थ्यो । सुनाउन लाग्नुभन्दा पहिला आफैंलाई सुनाएपछि उसले के भन्ला भन्ने लागेर चुप लागेको हुन सक्थ्यो ।
हामी धेरै हिसाबले नजिक थियौं। तर एकअर्काको आँसुको नजिक थिएनौं । दुई जना एकअर्काको आँसुको नजिक नभएसम्म बीचमा जहिल्यै एउटा पर्खाल बनिरहने रहेछ । उसले र मैले बीचमा बनाएको एउटै पर्खाल थियो– छोरो मान्छे रूनु हुँदैन । कसैले देख्यो भने के भन्छन् ?
त्यो पर्खाल हरेक वर्ष बलियो हुँदै गएको थियो ।
त्यो बिहान मलाई अँगालो मारेर रूँदै गर्दा उसले मनमा भएका ती सबै सुनायो, जुन कुरा हाँस्दाहाँस्दै भन्न सकेको थिएन । उसलाई सम्झाउँदै गर्दा मैले उसलाई ती कुरा सुनाएँ, जुन अरू बेला सुनाउन सकेको थिइनँ । उसले आफूलाई परिरहेको दुःखलाई यस्तरी वाक्यमा प्रयोग ग¥यो, मानौं त्यसरी कहिल्यै वाक्य बनाएकै थिएन ।
ऊ र म एउटै प्रश्न सुनेर हुर्किएका थियौं । ऊ र म एउटै प्रश्नको पर्खालमा थुनिएका थियौं । तर, त्यो दिन उसको आँसुले त्यो पर्खाल भत्काइदियो । मैले आफूसँग रून सक्ने नयाँ मान्छे भेट्टाएँ ।
अर्थात्, मैले आफू रून सक्ने नयाँ मान्छे
भेट्टाएँ । ऊसँग त म पहिला नै साथी थिएँ । तर, ऊ रोएपछि मैले नयाँ साथी भेट्टाएँ । अनि बल्ल मैले बाल्यकालमा हुँदा सोधिएको प्रश्न गलत रहेछ भन्ने थाहा पाएँ । अनि बल्ल मैले मलाई गलत प्रश्न सोध्नेहरूतिर फर्किएर सही प्रश्न सोध्न सकेँ ।
जुन आँसुले त्यतिन्जेलको मित्रतामा पनि पुग्न नसकेको स्थानमा हामीलाई पु¥यायो, त्यो आँसु कसरी कमजोरी हुन सक्छ ? जुन चिजले सधैं भेटेर पनि कहिल्यै नभेटिएको मान्छेलाई भेट्न मद्दत गर्छ, त्यो चिज कमजोर कसरी हुन्छ ? जुन चिजले वर्षौंदेखि भत्काउन नसकेको अभिव्यक्तिको पर्खाल एकैपल्टमा भत्काइदिन्छ, त्यसले कसैलाई कसरी कमजोर बनाउँछ ?
सबभन्दा ठूलो पीडामा मह्लम लगाउन होस् वा सबभन्दा ठूलो खुसीमा उत्सव मनाउन, आँसु हरेकपल्ट साथमा हुन्छ । त्यसैले त ओलम्पिक्समा मेडल जित्नेहरू रून्छन् । विम्बल्डन जितेर रोजर फेडेरर रून्छन् । वर्ल्डकप जितेर सचिन तेन्दुलकर रून्छन् । फाइनल हारेका सबै खेलाडी रून्छन् । जित्ने पनि रून्छन् । हार्ने पनि रून्छन् । महिला पनि रून्छन्, पुरुष पनि
रून्छन् । सबैलाई आफ्नो अव्यक्त खुसी र पीडा व्यक्त गर्न मद्दत गर्ने भाषा कसरी कमजोर हुन्छ ?
जन्मिएको यति वर्षपछि म फेरि आँसुसँग जन्मिँदै छु । जन्मिनलाई केको लाज ? आमाले डेलिभरी गराइरहेका बेला जसरी मैले लाइट बालिरहेको थिएँ, त्यसरी नै कोही मतिर लाइट देखाइरहेको छ ।
के कसैले मेरो जन्म हेरिरहेको हो ?
ऊ नजिक आउँछ । मसँग आँखा जुधाउँछ । ऊ त मजस्तै छ । ऊ म नै हो । उसले आफूजन्मिएको आफैं हेरिरहेको छ । अब बाहिर निस्किएपछि रोएर मैले जीवित भएको प्रमाण दिनुपर्छ र भन्नुपर्छ, ‘म छोरो मान्छे हुँ । म रून्छु ।’
के तपाईंले जीवित रहेको प्रमाण दिनुभयो ?
स्रो.ः सेतोपाटीअनलाईनबाट)
