
नेपालगन्ज, २७ असोज – नेपालगन्ज उपमहानगरपालिकाका उप–मेयर उमा थापामगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उपमेयर थापामगरले जानकारी दिईन ।

‘२०–२५ दिन पहिलेदेखि रुघाखोकी लाग्ने र घाँटी दुखिरहेको थियो, बिचमा २ पटक जाँच गराएँ नतिजा नेगेटिभ आएको थियो’ उनले भनिन, तर रुघाखोकी निको नभएपछि डाक्टरको सल्लाह अनुसार आईतबार पुनः स्वाब दिएको र आज मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उनले बताईन् ।
उपमेयर थापामगरले आफू अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै होम आइसोलेसन मै बसेको जानकारी गराइन् । उनले निकट केही दिन यता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सुरक्षितका साथ घर मै बस्न र केही लक्षण चिन्ह देखिए कोरोना जाँच गराउनका लागि आग्रह गरेकी छिन ।
उपमेयर थापामगर बाँकेमा शुरु देखि नै भारतबाट नेपाल भित्रिएका नागरिकको व्यवस्थापनका साथै कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रभागमा खटिएर काम गर्दै आएकी थिइन् ।
