
नेपालगन्ज, २५ असोज – जिल्ला प्रहरी कार्यालय बाँकेले आउँदै गरेको विजयादशमी, तिहार, छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालीहरुको ठूलो पर्वको रुपमा मनाईने विजयादशमी, तिहार, छठ जस्तो पर्वलाई लक्षित गरी बाँके जिल्ला भित्र हुन सक्ने अपराध र अपराधिक घटना लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना ल्याएको बाँके प्रमुख प्रमुख ओमबहादुर रानाले बताउनुभयो ।

आईतबार जिल्ला प्रहरी कार्यालयको प्राङणमा पत्रकार सम्मेलनको आयोजना गरी बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक रानाले १४ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेका छन् ।
पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोशाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड पोष्ट मार्फत सुरक्षा अवस्था निगरानी गरिने प्रहरी उपरीक्षक रानाले जानकारी गराउनुभयो ।

सुरक्षा योजना अन्तर्गत पिकेट ३३ स्थानमा, हाइवे चेकिङ ४ स्थानमा, एम्बुस चेकिङ ३० स्थानमा, डग स्न्यापिङ आवश्यकता अनुसार, विशेष टोली (सादा पोशाक) २५ जना, सरप्राइज चेकिङ १० स्थानमा, मोबाइल गस्ती १० वटा, पैदल गस्ती २० वटा, सिसिटिभी निगरानी १० जना, स्कटिङ २० जना आवश्यकता अनुसार, काउन्टर पार्ट्स सिमानाकाका १२ स्थानमा, क्विक रिस्पोन्स टिम १४ समुह, भिग्रस चेकिङ १४ स्थानमा र कमान्ड पोष्ट जिल्ला प्रहरी कार्यालयबाट मोनिटरिङ गर्ने गरी ६ सय ५० प्रहरी परिचालन गरिने प्रमुख रानाले बताउनुभयो ।
ठूलो पर्वको समयमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराध र अपराधिक लगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि बाँके प्रहरीले जिल्ला भित्र विशेष सुरक्षा योजना ल्याएको जनाउनुभयो ।
