
नेपालगन्ज, ८ पौष – प्रथमकिशोर सिंह राठौर यु–१६ कपक्रिकेट शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्जको मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालगन्ज मोडेल एकेडेमीले ब्राइटल्यान्ड स्कुललाई ५५ रनले हराएको छ ।
सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेल एकेडेमीले १८ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो । नेपालगन्ज मोडेलका लागि विकास कटवालले सर्वाधिक २२ रन, निश्चल पुन मगरले २१ रन, रोजिन पुन मगरले १९ रन, विवेक पुन मगरले १८ रन र प्रज्वल विष्टले अविजित ९ रन बनाए ।
ब्राइट ल्यान्डका शुभम बर्माले ३ विकेट, सार्थक सुनार र प्रसिद्ध केसीले २–२ विकेट लिए । जवाफमा ब्राइट ल्यान्डले १५.५ ओभरमा १० विकेटको नोक्सानीमा ९८ रन मात्र बनाउन सक्यो । ब्राइट ल्यान्डका ब्याटस म्यान नैतिक गुप्ताले २६ रन र सार्थक दवाडीले १५ रन जोडे ।
नेपालगन्ज मोडेलका सुमित विष्टले सर्वाधिक ४ विकेट लिए । प्रज्वल विष्ट र निश्चल पुन मगरले २–२ विकेट लिए । खेलमा नेपालगन्ज मोडेलका सुमित विष्ट म्यान अफ द म्याचघोषित भए ।

उद्घाटन खेल अघि संघीय सासद एवम् नेपाली कांग्रेस सह–महामन्त्री किशोर सिंह राठौरले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटनको क्रममा सहमहान्त्री राठौरले विगतमा बाँके जिल्ला खेलकुदको क्षेत्रमा निकै अगाडी रहेको इतिहास भएकोले खेलकुदको नेतृत्व गर्नेले यस क्षेत्र खेलकुदको विकासमा इमानदारितापुर्वक लाग्नु पर्ने बताए ।
बाँकेका युवाहरुले यु–१६ क्रिकेट प्रतियोगिता आयोजना गरेर समाजमा फैलिरहेको बिकृतीलाई हटाउन सहयोग गर्ने राठौरले बताए । उनले भने, ‘आयोजक युवाहरुलाई म धन्यवाद दिन चाहन्छु । यस्तो प्रतियोगिताले युवाहरुलाई अनुशासित बनाउने, मर्यादित बनाउने, देश प्रेमी बनाउने काम गर्छ । युवाहरु दुव्र्यसनीमा लागेर बिग्रिरहेका बेला खेलको सुरुआत गरेर यहाँका युवाहरुलाई प्रेरणा दिने प्रयत्न्न भएको छ । यसका लागि आयोजक टिमलाई धन्यवाद ।’

ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १७ टिमले सहभागिता जनाएका छन् ।
आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्त जंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिम ल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल, बागेश्वरी एकेडेमी कोहलपुर र मंगल प्रसाद उच्च मावि रहेका छन् ।
यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी, ब्राइट ल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटस म्यानले समान ५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार पाउनेछ ।
प्रतियोगिता अन्तर्गत आइतबार ड्रिम ल्यान्ड हाइस्कुल राँझा र नेपाल सेन्ट जेभिर्यस हाईस्कुल बिच हुनेछ ।
