Tuesday, April 21सत्यम खबर
Shadow

छुवाछुतको भेदभाव हटाउने सन्देश दिंदै मनाईयो स्व. राम गोपाल वैश्य स्मृति दिवस

नेपालगन्ज, ८ पौष – प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्य स्मृति प्रतिष्ठानले छुवाछुत र तल्लो उपल्लो जाति बीचको भेदभाव हटाउने सन्देश दिएको छ ।
शनिवार दिन प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यको छैठौं वार्षिक पुण्यतिथिको अवसरमा दलित वर्गका बाल्मीकी समुदायका ६७ वर्षीय वृद्ध मैकुलाल बाल्मीकीको खुट्टा धुवाई नयाँ वस्त्र पहिराई कदर सम्मान गरेको छ ।
यो खुट्टा धुवाउने कार्य स्व. राम गोपाल वैश्यका साईंलो छोरा अजय कुमार गुप्ताले गरेका थिए । त्यस्तै कार्यक्रम बीच प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले गरीब निर्धन वर्गका असहाय व्यक्तिलाई न्यानो कम्बल ओढाएका थिए ।
कार्यक्रमबीच प्रतिष्ठानले कसौंधन वैश्य समाज, बाँकेका अध्यक्ष सन्तोष कुमार वैश्य (सोयाबीन) लाई फूलमाला लगाई कदर सम्मान गरेको थियो ।


दलित ज्येष्ठ नागरिक मैकुलाल बाल्मीकीको कदर सम्मान गर्दै उपाध्यक्ष अजयकुमार गुप्ताले भने, तराई भेगबाट छुवाछुत र तल्लो उपल्लो जातिबीचको भेदभावको अन्त भई सकेको छ तर नेपालको हिमाली पहाडी भेगमा यस्तो छुवाछुतको भावना अझै रहेको कुरा सामाजिक सञ्जालहरुबाट जानकारी हुँदै रहेको छ । यस्तो छुवाछुतको अब अन्त हुनुपर्छ, यस्तो कुरीतिबाट हाम्रो समाज पछाडि पर्दै गएको छ । समाजलाई अघि बढाउनु छ भने अब सबै प्रकारको छुवाछुतको अन्त हुनुपर्छ ।’
उनले भने, ‘लगनशीलता र आँट गरे यस्तो कुरीतिको अन्त अवश्य हुन्छ । मलाई केहीहरुले विभिन्न सरकारी नियकाबाट सहयोग लिई अझ रचनात्मक, सामाजिक सेवा कार्य गरौं भन्ने प्रकारको सुझाव दिइएको थियो यो वर्तमान सरकार केन्द्र, प्रदेश, स्थानीयसम्म भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ यस कारण सरकारसँग कुनै प्रकारको सहयोग लिँदैनौं आफ्नै बलबुतामा अझ राम्रो प्रकारले सामाजिक सेवा कार्यहरु गर्दै जानेछौं ।’


वार्षिक पुण्यतिथि कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्य, उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव रुद्र सुवेदी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी, समाजेसवी संस्थाका व्यक्ति, कानून व्यवसायी र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
वार्षिक पुण्यतिथि कार्यक्रम वैश्यको परिवारजन आवासगृहको अगाडि आयोजित गरिएको थियो ।
२०७४÷९÷७ गते प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यको स्वर्गारोहण भएको थियो सो पछि उहाँको स्मरणका लागि समाजसेवी नन्दलाल वैश्यको अध्यक्षतामा स्मृति प्रतिष्ठान बाँके जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता गराइएको थियो । प्रतिष्ठानको स्थापनाकालदेखि यसले विविध सामाजिक सेवा कार्य हरेक वर्ष नियमित रुपले आयोजना गर्दै आएको छ । गत वर्ष रामधुन बजाई वैश्यको परिवारजन बस्ने आवास गृह अगाडि पुण्यतिथि कार्यक्रम भव्यताले मनाइएको थियो ।


बर्दियाको राजापुर बजारमा वि.सं. २००१ सालमा जन्मिनु भएका स्व. राम गोपाल वैश्यले बाँके जिल्ला र सुर्खेतमा विभिन्न सरकारी पदमा कार्यरत रही कार्य गर्नु भएको थियो । विभिन्न व्यापार पेशा अपनाउँदै पत्रकारिता क्षेत्रको लागि अग्रणी भई कार्य गर्नुभयो जसको कारण उहाँलाई प्रेस स्वतन्त्रता सेनानीको कदर सम्मान गरिएको थियो ।
राजनीतिको क्षेत्रमा २०३८ साल वैशाख २७ गते भएको राष्ट्रिय पंचायत सदस्यको उम्मेदवार भई चुनाव लड्नु भयो सो पछि बाबा रामजनम तिवारी गजेन्द्र नारायण सिंहसँग सहकार्य गर्दै मधेशी मञ्चको स्थापना गर्न अहम भूमिका निर्वाह गरेको पाइन्छ । पत्रकारिता क्षेत्रमा राजधानीबाट प्रकाशित हुने चेतना साप्ताहिक, राष्ट्रध्वनि, राष्ट्रपुकार साप्ताहिकमा कार्य गरेपछि बाँकेमा लोकमत साप्ताहिक, किरण साप्ताहिकमा कार्य गर्दै बिबिसी लन्दनको नेपाली सेवामा पत्रकार मार्क टुलीको साथमा वर्षाैंसम्म कार्य गर्नुभयो । बाँके जिल्लामा शंखनाद साप्ताहिकको प्रकाशन गर्नुभयो जसको त्रिभुवन चोक बोल्दछ स्तम्भ देशभरी नै अति चर्चित बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *