
नेपालगन्ज, ४ पौष – भारतको देहेरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका १२ जना खेलाडीले पदक हात पार्न सफल भएका छन् ।
उत्तराखण्ड तेक्वान्दो एशोसिएसन तथा यूपी गुडबिल तेक्वान्दो एशोसिएसनको संयुक्त आयोजनामा गत डिसेम्बर १५ देखि १७ तरेखसम्म सञ्चालित प्रतियोगितामा नेपालका पाँच टोलीले सहभागिता जनाएका थिए ।

१२ वटा देशका खेलाडीले प्रतिस्पर्धा गरेकोमा बाँकेबाट सहभागी खेलाडीले विभिन्न उमेर तथा तौल समूहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको प्रशिक्षक चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो । प्रशिक्षक श्रेष्ठ आफै पनि प्रतियोगितामा ५० बर्ष माथिको उमेर समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले प्रथम स्थान हासिल गर्नुभयो ।
बाँकेमा विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गर्नुभएका सागर धामी, विहान गोयल, अनुज गिरी, आभाष पराजुली, प्रिति विष्टले प्रथम स्थान हासिल गर्दै मेडल प्राप्त गर्नुभयो ।

द्वितीय स्थान हासिल गर्दै मेडल प्राप्त गर्ने खेलाडीहरूमा तर्कराज देवकोटा, जुनु पासी, वियन्सा कक्षपति तथा तृतीय स्थान हासिल गर्नेमा युवराज सिंह ठकुरी, हरके सिंह पाण्डे, अभिनव चौधरी रहनुभएको छ ।
बाँकेबाट प्रशिक्षक श्रेष्ठको नेतृत्वमा १७ जना खेलाडी तथा कोच उमादेवी थापा, टिम मेनेजर प्रविण बहादुर ठकुल्ला, अन्तर्राष्ट्रिय रेफ्रि प्रकाश लामिछानेको टोली भारत पुगेको थियो ।

बाँकेबाट सहभागी भएर भारतमा तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेख्य सफलता हासिल गर्न सफल भएका हुन ।
सोही मध्ये अनुज गिरीलाई आज एक कार्यक्रमको आयोजना गरि हनुमान चालिसा समिति हडिया बाबा आश्रमले सम्मान गरेको छ ।
खेलको माध्यमबाट खेलाडीहरूले देशको झण्डा विदेशमा लहराउन सफल भएतापनि स्थानिय सरकार तथा प्रशासनले उचित व्यवस्थापन नगर्नुले खेलको माध्यमबाट देशले पाउने प्रतिफल समेत पुर्ण रूपमा पाउने नसकिएको अवस्थामा फुल्टेक्रालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन अनुज गिरी सफल भएकोले हामी सम्पुर्ण फुल्टेक्राबासी नै गौरव महसुस भएको हनुमान चालिस समितिका दिलिप रेग्मीले बताउनु भयो ।
तेक्वान्दोको माध्यमबाट बाँके जिल्लालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने १२ खेलाडीहरूलाई स्थानिय सरकारले सम्मान गर्नु पर्ने भनाई राख्दै हनुमान चालिसा समितिका सुधिर गुप्ताले आज यस समितिमार्फत अनुज गिरीलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्नु भयो ।

