
नेपालगन्ज, १९ मंसिर – प्रत्येक वर्ष झैं यस वर्ष पनि गौरव स्मृति तथा वी योर सेल्फ फाउण्डेशनले श्री १००८ हडिया बाबा आश्रममा आयोजित परम्परागत धार्मिक मेलामा सहभागी साधु सन्धहरुको निःशुल्क आँखा, कान चेकजाँच गराई सराहनीय कार्य गरेको छ ।
यस वर्ष पनि हडिया बाबा आश्रममा आयोजित परम्परागत धार्मिक मेलाको चौथौं दिन गौरव स्मृति तथा वी योर सेल्फ फाउण्डेशनले निःशुल्क आँखा, कान चेकजाँचको आयोजना गरी आँखा जाँच तर्फ ३ सय ४८ जना तथा कान तर्फ २ सय ५ जनालाई सेवा उपलब्ध गराएको छ ।

त्यसैगरी हडिया बाबा आश्रममा निःशुल्क आँखा कान शिविरमा सहभागी साधु सन्तहरुमा देखिएको थप समस्या मोतिया बिन्दुको लागि फत्तेबाल आँखा अस्पतालमा रिफर गरिएको थियो । रिफर हुनेहरुमा मोतिया बिन्दुको अप्रेशन तर्फ १५ जनालाई फत्तेबाल आँखा अस्पतालमा तथा कान आप्रेशनको लागि ब्रिनोज स्वास्थ्य स्याहार केन्द्रमा ७ जनालाई रिफर गरिएको गौरव स्मृतिका संरक्षक प्रदीप शाहले जानकारी गराउनुभयो ।

संरक्षक शाहले साधु सन्तहरुको स्वास्थ्य उपचारको लागि केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत चांसो नदिएको प्रति दुःख व्यक्त गर्दै हामीले उहाँको सेवा कै लागि प्रत्येक वर्ष हडिया बाबा आश्रममा आयोजित हुने धार्मिक मेलामा निःशुल्क आँखा, कान चेकजाँच शिविर लगाउने गरेको बताउनुभयो ।
‘सेवा नै धर्म’ भन्ने उद्देश्य लिएर प्रत्येक वर्ष नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ स्थित फुल्टेक्रामा रहेको धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा आयोजित हुँदै आईरहेको परम्परागत धार्मिक मेलामा सहभागी साधु सन्धहरुको निःशुल्क आँखा, कान चेकजाँच हुँदा त्यसको आनन्द नै उत्साह जनक रहेको भनाई गौरव स्मृतिका अध्यक्ष मधु शाहले राखेका छन् ।

अध्यक्ष शाहका अनुसार हामीले यस हडिया बाबा आश्रममा विगत कैयौं वर्षदेखि लगातार साधुसन्तहरुको सेवाका लागि आँखा, कान चेकजाँचको लागि क्याम्प लगाउने गरेका छौं । त्यसबाट कतिपय साधुसन्तहरुको आँखा, कान मोतिया बिन्दुले गर्दा दृष्टिबिहिन हुने अवस्थामा समेत पुगिसकेको हुन्छ तर आर्थिक अभावले गर्दा उहाँले उपचार नपाउने भएकै हुँदा हामीले निःशुल्क मोतिया बिन्दु अप्रेशनको खर्च मात्र नभई उहाँहरुको बसाई, खवाई समेतको पनि व्यवस्थापन गर्दै आईरहेको जानकारी गराउनुभयो ।

यस वर्ष गौरव स्मृति तथा वी योर फाउण्डेशनले आयोजना गरेको निःशुल्क आँखा, कान चेकजाँच क्याम्पमा ब्रिनोज कान स्याहार केन्द्र तथा फत्तेबाल आँखा अस्पतालले समेत सहकार्य गरेका थिए । रिफर भएका आँखा बिरामीहरुको उपचार फत्तेबाल आँखा अस्पतालमा गराईएको थियो ।
कान स्वास्थ्य सहायक तिर्थमान थारु, दामोदर थारु तथा नेत्र अधिकृत उमर सहिदले आँखा, कान बिरामीहरुको परीक्षण गरेका थिए भने गौरव स्मृति तथा वी योर सेल्फ फाउण्डेशनका अध्यक्ष मधु शाह, कोषाध्यक्ष विजय कोरी, सचिव सुकराम थारु, स्वयंसेवक लगायतले सहजीकरण गरेका थिए ।
