Monday, April 27सत्यम खबर
Shadow

सरकारले प्रत्येक दिन जनविरोधी र देश बिरोधी निर्णय गर्दै: सभापति लामिछाने

नेपालगन्ज, १३ असाेज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिसन ८४ नेपाली जनताको अभियान हुनुपर्ने बताउनुभयो । रास्वपाको नेपालगन्ज नगर भेलालाई शनिबार सम्बोधन गर्दै सभापति लामिछानेले पुराना राजनीतिक दलले देश बनाउने हो भने अहिले पनि चार वर्षको प्रर्याप्त समय रहेको दावी गर्नुभयो । 
राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाहिर राखेर प्रमुख दलहरु मिलेर सरकार बनाउन उहाँले सुझाव दिनुभयो । सभापति लामिछानेले भन्नुभयो, ‘लामो समय सत्तामा रहेका दल र नेताहरुले अब पनि मिसन ८४ भन्नु फेरि पनि जनतामाथिको बेइमानी र धोका हो, मिसन ८४ को अभियान राजनीतिक दलले नभइ जनताले चलाउनुपर्ने अभियान हो ।’
बर्तमान सरकारलाई शङ्काको सुविधा दिएर समर्थन जनाएको भन्दै सभापति लामिछानेले सरकारले प्रत्येक दिन जनविरोधी र देश बिरोधी निर्णय गर्दैआएको आरोप लगाउनुभयो । सरकारको निर्णयको बिरोध गर्ने हो भने माइतीघर मण्डलामै बास हुने भन्दै उहाँले सरकारको ध्यान अलोकप्रिय निर्णयमा जाने गरेको बताउनुभयो । 
अनुसन्धानमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई सरुवा गरेर सरकारले थप ब्यक्तिलाई जोगाउने काम गरिरहेको उहाँको भनाइ छ । राजनीतिक दलका नेताहरु कमाउ धन्दामा लागेका कारण देश बन्न नसकेको भन्दै राजनीतिक दलका भातृ सङ्गठनका कारण पनि समस्या उत्पन्न हुने गरेको उहाँको भनाइ छ । 
राजनीतिक दलको नेतृत्वले मतदातालाई नभई चन्दादातालाई हेरेर कानून बनाउने गरेको भन्दै उहाँले राजनीतिक दलको नेतृत्वका कारण देशले दुःख पाएको टिप्पणी गर्नुभयो । उहाँले जनताले सिटामोल र जीवनजल नपाउने तर नेताहरु विदेशमा उपचार गर्न जाने प्रचलन बन्द गर्नुपर्ने बताउनुभयो । 
पार्टीमा परिवारवाद, आफन्तवाद र कार्यकर्तावाद निषेध गरिएको भन्दै उहाँले ब्यक्तिको आदेशमा नभइ विधीको शासनमा पार्टी सञ्चालन भइरहेको बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य रमेश प्रसाई, प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
यसैगरी, गुप्तबहादुर खड्का (नवीन) काे नेतृत्वमा ११ सदस्यीय नेपालगन्ज उपमहानगरपालिका नगर मूल समिति सर्वसम्मत चयन गरिएकाे जानकारी बाँके क्षेत्र नं. २ का क्षेत्रीय सदस्य बालकृष्ण लामिछानेले गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *