नेपालगन्ज, ११ असाेज (डेस्क) – सेप्टेम्बर २३, २०२३ शनिबारका दिन गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, ओहायो च्याप्टर र स्थानिय नेपाली संस्थाहरू सेन्ट्रल ओहायो नेपाली एसोसियसन(CONA) र एसोसियसन अफ नेपाली तराईएन ईन अमेरिका(ANTA) को संयूक्त आयोजनामा र हिमालयन एडल्ट डे केयर सेन्टरको प्रायोजनमा “नेपालप्रति गैर आबासिय नेपालीको दायीत्व र अधिकार बिषयक” अन्तरक्रिय कार्यक्रम सम्पन् भएको छ।
कार्यक्रम गैर आबासिय नेपाली संघ ओहायो च्याप्टरका अध्यक्ष श्री होताराम विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन च्याप्टरका सचिब लोकेन्द्र देबकोटाले गर्नुभएको थियो । साथै कार्यक्रमको उद्घाटन प्रमूख अतिथि जनमत पार्टीका अध्यक्ष माननिय डा. सिके राउतले पानसमा दियो बालेर गर्नुभएको थियो।
कार्यक्रममा नेपालबाट अमेरिकाको ओहायो राज्यमा पाल्नु भएका संघीय सभा सदस्य क्रमसः माननीय डा. सि. के राउत, रूपा विश्वकर्मा र सोबिता गौतमलाई ओहायो च्याप्टरका अध्यक्ष होताराम विश्वकर्माले पुष्प गुच्छा दिएर स्वागत गर्नु भएको थियो। आयोजक टिमले माननियहरूलाई कुनै पनि पार्टीको नजरले नहेरी व्यक्तिको प्रोफाईल, बिज्ञता र जेष्टताका आधारमा मा. डा. सि. के राउतलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गराएको थियो भने मा. रूपा विश्वकर्मा र मा. सोबिता गौतमलाई बिशेष अतिथिको रूपमा आसन ग्रहण गराएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डा. राउतले बिभिन्न नेपाली डायोस्पराका नेतृत्वको भनाईलाई उदृत गर्दै नेपालको बर्तमान राजनितिक स्थिति र देश बिकासमा आफ्नो पहल कदमिका साथै गैर आबासिय नेपालीको अधिकारको बारेमा यथार्थमा टेकेर बस्तुगत कुरा बोल्नु भएको थियो। उहाँले फलोरबाट उठेका बिभिन्न प्रश्नहरूको जबाफ दिदै संघिय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको पुष्टी गर्नुभएको थियो ।
कार्यक्रममा बिशेष अतिथि मा. रूपा विश्वकर्माले आफ्नो पार्टी नेपाली काँग्रेसले युबाहरुको प्रतिनिधित्व गर्दै देश बिकासमा टेवा पुर्याउने र प्रबासमा बसेका नेपालीहरूलाई आफ्नो देशमा फर्कने बातावरण सिर्जना गर्न पहल कदमि गर्ने कुरा राख्नु भएको थियो भने मा. सोबिता गौतमले आफू र आफ्नो पार्टी रास्वपाले देशमा आशाको फुल रोपेको र यो अब छिट्टै नेपाल र नेपाली जनताको समुन्नत बिकासको लागि यथार्थमा परिणत हुने जिकिर गर्दै सम्पूर्ण गैर आबासिय नेपालीहरूलाई यसमा हातेमालो गर्दै अगाडी बढ्न आह्वान गर्नुभएको थियो ।
कार्क्रममा गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका पूर्ब सल्लाहाकार डा. दामोदर पौडेलले नेपालका लागि अमेरिकाको काँग्रेसमा बनेको “कोकसको” बारेमा प्रष्ट्याउँदै आफूले कोरोनाको बेला ओहायोमा बस्ने नेपाली र नेपाली भाषिहरूलाई धेरै सहयोग गर्दै नेपालमा भ्याक्सिन पठाउन महत्वपूर्ण भूमिका खेलेको प्रष्ट पार्नु भएको थियो।
यसैक्रममा एन्टा(ANTA) कि अध्यक्ष डा. मिर्दुला गुप्ता र कोना (CONA) का अध्यक्ष आनन्द तिवारीले ओहायो राज्यमा बस्ने नेपालीहरूको एकता र भाबि पुस्ताहरूलाई हाम्रो संस्कृतिको निरन्तरता गराउने कुरामा जोड दिनुभएको थियो। कार्यक्रममा गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका पूर्ब सिनियर उपाध्यक्ष मुकेशकुमार सिङ्गले ट्याक्स ट्रेटिको बारेमा प्रष्ट पार्नुभएको थियो।
कार्यक्रममा बोल्दै सेवा ईन्टरनेस्नलका सल्लाहाकार शिबप्रकाश मिश्राले नेपाल जाँदा र त्यहाँ सरकारी कार्यालयहरूबाट सेवा लिँदा आफूले भोगेका जटिलताहरूलाई प्रष्ट पार्दै देश बिकासका लागि काठमाण्डौ महानगरपालीकाका मेयर बालेन शाहको चर्चा गर्नुभएको थियो।
त्यसैगरी कार्यक्रममा भुट्निज नेपाली रिपब्लिकन पार्टी, ओहायो राज्यका प्रेसिडेन्ट काँशिनाथ अधिकारिले भुट्निजहरूलाई पनि नेपाल सरकारले गैर आबासिय नेपाली संघ (NRNA) को मान्यता दिनु पर्छ भन्ने कुरा राख्दै भुट्निज नेपाली अमेरिकन ब्यापारिहरू पनि नेपालमा लगानी गर्न आतुर रहेको प्रष्ट्याउनु भएको थियो। कार्यक्रमलाई थप रोचक पार्न च्याप्टरकि महिला संयाेजक तथा गायिका सारदा धितालले मन छुने कबिता बाचन गरेकी थिईन ।
कार्यक्रमको अन्त्यमा च्याप्टरका अध्यक्ष होताराम विश्वकर्माले हालै नेपाल सरकारबाट पारित गैर आबासिय नेपाली नागरिक्ता बिधेकको बारेमा चर्चा गर्दै गैर आबासिय नागरिकले तीन पुस्ताको लागि मात्र नभई बंसजको नागरिक्ता पाउनु पर्छ र यो हाम्रो मांगलाई माननिय ज्यूहरूले नेपाल सरकारको संसदमा आवाज बुलन्द गरेर पहल कदमी गरि दिन हुन बिशेष आग्रह गर्नु हुँदै कार्यक्रम समापन गर्नुभएको थियो ।
कार्यक्रम पश्चात आयोजक टिमले माननियहरूलाई ओहायोको रेनसबर्ग सिटिमा रहेको नेपाली दर्शन रेष्टुरेन्टमा डिनरको ब्यबस्था पनि गरेको थियो ।