Wednesday, March 11सत्यम खबर
Shadow

लकडाउन हुने भन्ने हल्ला मात्रै हो, तत्काल लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौ, १६ असोज – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको कारण तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको बताउनु भएको छ । उहाँले कोरोनाको जोखिम हटि नसकेको भन्दै स्वास्थ्य सुरक्षा र सावधानी अपनाई दैनिक व्यवहार क्रियाकलाप गर्न सबैमा आग्रह गर्नुभएको छ ।


लकडाउन हुने भन्ने हल्ला चलेको भन्दै नेपाल उद्योग बाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलका प्रतिनिधिहरु आज स्वास्थ्यमन्त्री ढकाललाई भेट्न पुगेका थिए । उनीहरुले व्यवसायहरू विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न तयार रहेको मन्त्रीलाई सुनाएका थिए ।
प्रतिउत्तरमा मन्त्री ढकालले हल्लाको पछि नलाग्न अनुरोध गर्दै तत्काल लकडाउन नहुने बताउनु भएको छ । उहाँले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने वा स्यानिटाइज गर्ने विषय आफ्नै लागि हो भन्ने सोचको विकास गराउनु पर्ने बताउनुभयो । हाल काठमाण्डौ उपत्यका सहित देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको अवस्थामा नेपालमा ७९ हजार ७२८ जनामा कोरोना संक्रमण भइसकेको छ ।
ती मध्ये ५७ हजार ३८९ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ५०९ जनाको मृत्यु भएको छ । बाँकी २१ हजार ८३० जना हाल पनि संक्रमित कै अवस्था (संक्रीय संक्रमित) मा रहेका छन् । यसअघि मन्त्रालयले देशभर संक्रीय संक्रमित २५ हजार बढी भए पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको जनाएको थियो । (जनताटाइम्स)

Leave a Reply

Your email address will not be published. Required fields are marked *