
नेपालगन्ज, १६ असोज – प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी दाङ राख्न प्रदेश सभा बैठकमा प्रस्ताव दर्ता भएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको प्रस्ताव शुक्रबार सदनमा पेश गरेका छन् ।

‘दाङ जिल्लाको राप्ती गाउँपालिका, गडवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले ओगटेको, चर्चेको राप्ती नदी किनारको देउखुरीलाई प्रदेशको स्थायी राजधानी राख्न प्रस्ताव गर्छु,’ उनले संसदमा भने, ‘प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गर्छु ।’
उनले प्रतिपक्षीलगायत सांसदलाई नाम र राजधानीमा समर्थन जनाइदिन पनि आग्रह गरेका थिए । मन्त्री केसीले उक्त प्रस्ताव गरेलगत्तै विपक्षी दल नेपाली काँग्रेसका सांसदले उठेर विरोध गरेका थिए ।
काँग्रेस सांसद रमा अर्यालले राजधानीका नाम तीन ठाउँमा प्रस्ताव गरे पनि संसदमा एक ठाउँको मात्रै नाम पेश गरिएकोमा विरोध गरेकी थिइन् । उनले सर्वसत्तावाद लाद्दै नाम र राजधानीका नाम पेश गरिएको पनि आरोप लगाइन् ।
सभामुख पूर्णबहादुर घर्तीले आज शुक्रबार सांसदलाई बोल्न समय नदिइएको बताए । संसद बैठक असोज १९ गतेसम्मका लागि स्थगित गरिएको उनले जानकारी गराए ।
राजधानी र नामांकरणका लागि दुई तिहाई मत चाहिन्छ । प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ । यसअघि राजधानीका विषयमा सांसदहरू विभाजित थिए ।
नेकपा संसदीय दलले शनिबार बिहान ८ बजे बैठक बसेर राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गर्नेछ ।
राजधानी बारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै अध्यक्षको सहमतिपछि प्रदेश सरकारले राजधानी र नामबारे आज शुक्रबार प्रस्ताव लगेको हो ।