
दाङ, १६ असोज – डाँडापारीको सूर्य अस्ताउने दिशामा रहेकाले तापक्रम मत्थर भइसकेको छ ।
पिप्रहवा डाँडा नजिकै मयाखोला सामुदायिक वन छ । त्यही पिप्रहवा डाँडामा बस्छिन् ६३ वर्षीया रामप्यारी शाह । यो दंगिशरण गाउँपालिका वडा नं. ५ मा पर्छ । हामी पुग्दा उनी घरमा थिइनन् । घर लिप्नका लागि थुपारेर राखेको माटो आँगनमा थियो । सानो ताल्चा झुण्ड्याइएको थियो ।
बुधबार बेलुका घडीमा ६ बज्नै लाग्दा उनी घर आइन् । गाउँमा घिउ र मह खोज्न गएकी रहेछिन् ।
उनी घर आइपुग्ना साथ दुई बिराला निस्किए, एउटा खैरो र अर्को सेतो रंगका । ती बिराला उनको वरिपरि म्याउ–म्याउ गर्दै लुटपुट गर्न थाले । आफ्नो भन्ने यी बिराला मात्रै हुन भन्ने रामप्यारीलाई लाग्छ ।

ती बिराला उनीसँगै सुत्छन् । ‘यिनीसँगै बोल्छु, सँगै खेल्छु, सुत्छु,’ रामप्यारीले भनिन् ‘यी बाहेक मेरा अरु आफ्ना भन्ने कोही छ्रैनन् ।’
शाहको हातमा स–सना दुई वटा प्लाष्टिकका डिब्बाहरु थिए । त्यसमा मह र घिउ ल्याएकी रहिछन् । ‘शुद्ध गाईको घिउ पाइन्न,’ रामप्यारीले भनिन् ‘भैंसीको घिउ भए पनि लिएर आएँ ।’ त्यो उनले पल्लो गाउँबाट मागेर ल्याएकी थिइन् ।
उनले भनिन् ‘श्रीमानको तिथि नजिक आइसक्यो । कपासको बत्ती काटेकी छु । यो मह र घिउ बत्ती बाल्नका लागि ल्याएकी हुँ ।’
रामप्यारीले भनिन् ‘मलाई श्रीमान बितेको तीन दिनमै गहुँत ख्वाए । त्यसैले मेरा श्रीमानले राम्रो ठाउँ पाएका छैनन् । उनको नाममा बत्ती बालेपछि राम्रो ठाउँ पाउँछन् कि ।’
रामप्यारीका अनुसार उनका ६७ वर्षीय श्रीमान् रामबहादुर शाहको गत साल असोजमा दशैंको मुख मै हत्या भएको हो । सप्तमी भन्दा दुई दिन अगाडि उनका पतिको गाउँमै हत्या भयो । त्यो दिन रामप्यारी दशैं मनाउन आफ्नो घर लिपपोत गरिरहेकी थिइन् ।
सोही वडाकै कुरी निवासी कालिचरण र साइचरण चौधरी उनको घरमा आए । एउटा गोरु (नाटो) ५ हजारमा किनेर लगे। तर, उनीहरुले पैसा दिएका थिएनन् । त्यही पैसा माग्न चौधरीका घरमा रामबहादुर गए ।

पैसा माग्दा आपसमा विवाद र कुटाकुट भयो । घरेलु हतियार खुर्पा पनि प्रयोग भयो । रामप्यारीका अनुसार तीन बाउ छोरा लागेर शाहलाई आक्रमण गरे ।
आक्रमणबाट गम्भीर घाइते अवस्थामा शाहलाई उतैबाट तुलसीपुरस्थित तत्कालीन राप्ती अञ्चल अस्पतालमा उपचारका लागि पु¥याइयो । घर लिपपोत गरिरहेकी रामप्यारीलाई यो घटना थाहै भएन ।
एक्कासी झिसमिसे साँझमा दुई जना प्रहरी शाहको घरमा आए । उनका श्रीमान् रामबहादुर कुटपिटबाट गम्भीर घाइते भएको तथा अस्पतालमा भर्ना भएको खबर दिए ।
रुँदै हिँडेकी उनीसँग बजारसम्म पुग्नलाई कुनै साधन र पैसा पनि थिएन। दया गरेर कसैले उनलाई ५० रुपैयाँ दिए । अनि त्यही ५० रुपैयाँको अटो चढेर उनी अस्पताल पुगिन् ।
अस्पतालमा श्रीमान अचेत थिए। त्यो रात उनी अस्पतालमै बसिन् । श्रीमानको अवस्था देख्नासाथ रामप्यारीले ऋण गरेर नेपालगञ्ज लैजानेबारे सोचिन् । तर, भोलिपल्ट बिहानै उनका श्रीमान बोले र आफूलाई घर लैजान आग्रह गरे । बिहान सात बजेतिर घरको आँगन टेक्नासाथ उनका श्रीमानले प्राण त्यागे ।

छिमेकलाई जिउँदाको जन्ती मर्दाको मलामी भन्ने गरिन्छ । तै, गाउँले जम्मा ६ जना मात्रै भेला भए । ‘गन्ने मान्ने मानिसको मृत्यु हुँदा फरक कुरा हुन्थ्यो,’ रामप्यारीले भनिन् ‘गरिब र बेसाहारालाई सबैले हेप्दा रैछन् ।’
रामबहादुरले वर्षौंदेखि मया सामुदायिक वनको चौकीदारी गर्दै आएका थिए । मासिक चार सय उनको तलव थियो । तर उनको मृत्यु भएपछि एउटा रुख काट्न पनि रामप्यारीले अनुमति पाइनन् ।
हिन्दु संस्कार अनुसार उनले श्रीमानको अन्त्येष्टि गर्न चाहान्थिन् । तर, कुनै उपाय चलेन । अनि रामबहादुरको शव ६ जनाले नजिकैको पिप्रहवा डाँडोमा लगेर गाडे ।
अचाक्ली याद आउँदा आज पनि रामप्यारी श्रीमान् रामबहादुरलाई गाडेको ठाउँमा गएर बस्छिन् । त्यही माथि बसेर रुन्छिन रे ।
रामबहादुरको हत्या दशैंको समयमा भएकाले गाउँले कोही पनि बत्ती कुर्न नआउने बताए । ‘हामी घरमा मासुभात खान छोडेर बत्ती कुर्न आउन्नौँ भने,’ रामप्यारीले भनिन् ‘त्यसैले मलाई गौशालामा लगेर राखियो र तीन दिनमै मलाई गहुँत खुवाए ।’
स्थानीय जनप्रतिनिधिले नै त्यसो गर्न लगाएको उनले बताइन् । जो कुरा उनलाई आजसम्म पनि पटक्कै चित्त बुझेको छैन । अवला रामप्यारीले कसैको विरोध गर्न सकिनन् । बोलेको कुरा कसैले सुनेन् रे । गौशालाबाट उनी १५र१६ दिनपछि फर्केर घर आइन् । त्यसयता उनी एक्लो घरमा बस्दै आएकी छन् । नजिकमा रामप्यारीको आफ्नो भन्ने कोही छैन ।
भएका दुई सन्तान दादुराले लग्यो
उनका सन्तान नभएका होइनन् । दादुराका कारण एउटा छोरा ५ वर्षमै विते र छोरी ३ वर्षमै वितिन् । ‘उतिबेला अहिलेका जस्ता अस्पताल पनि थिएनन् र दादुराको औषधि पनि थिएन,’ उनले आँशु झार्दै भनिन् ‘मेरो छोराछोरी बाँचेका भए आज तपाईंहरु जस्तै लक्का जवान हुने थिए । म एक्लै बस्नुपर्ने थिएन ।’
पछि सन्तान नजन्मिएको शाहले बताइन् । ‘म शाही ठकुरीकी छोरी हुँ, १२ वर्षको छँदा बाआमाले बिहे गरेर पठाइदिए,’ रामप्यारीले भनिन् ‘म १५ वर्षको छँदा हामी दाङ झरेका हौं ।’ उनको माइती घर रुकुम हो । सानै उमेरमा दाङ झरेकी रामप्यारी त्यसपछि माइतीघर कहिल्यै नगएको बताउँछिन् ।
यो बीचमा उनको माइतीका कसैसँग भेटघाट र सम्पर्क भएको छैन । उनीसँग मोबाइल पनि पनि छैन । दाङ झरेपछि उनका श्रीमानले वर्षौंदेखि यसैगरी ठाउँ ठाउँका वनहरुमा चौकीदारी गर्दै दिन विताए । पछिल्लो मयाखोला सामुदायिक वनमा रामबहादुरले चौकीदारी गर्न थालेको १९ वर्ष पुगिसकेको रामप्यारीले बताइन् ।
चर्किएको घरमा पुरिएर मर्छु कि भन्ने लाग्छ
जहाँ अहिले बसिरहेकी छन् यो घर दश वर्ष पहिला उनका पतिले बनाएका हुन् । खर (फुस) को छानोयुक्त यो घर अहिले भने जीर्ण बनिसकेको छ । यो वर्ष लगातारको वर्षाले घरको भित्ता ठाउँ ठाउँमा चर्किसकेको छ, कतिपय ठाउँ भत्किएको छ ।
पानी चुहिन थालेपछि खरको छानोमाथि त्रिपाल टाँगिएको छ । ‘ठूलो पानी र चट्याङ आउँदा म बाहिरै बोरा ओढेर रातभर बस्छु,’ रामप्यारीले भनिन् ‘घर भित्र बस्यो भने भत्किएर मर्छुकी भन्ने डर लाग्छ ।’ त्यतिबेला आफ्नो अघिपछि म्याउँ म्याउँ गर्दै बिरालोले साथ दिने गरेको रामप्यारीले बताइन् । ‘झरी लागेपछि म बोरा ओढेर बाहिर आउँदा उनीहरु पनि मसँगै बस्छन्, मेरो साथ छोड्दैनन् ।’
उनको घर एकान्तमा छ । भनिन् ‘म घर भत्किएर मरेँ भने त्यही भित्रै कुहिएर मर्छु होला । मेरो को छ र ? मलाई खोज्न को पो आउला र ?’ उनी बस्दै आएको जग्गा र घर सबै ऐलानी हो । उनको घरको माथिबाट बिजुली बत्तीको तार तानिएको छ । उनको घरमा बिजुली जोडिएको छैन ।
न रेडियो छ, न टिभी । शौचालय पनि छैन । डाँडाकाँडा र खोलामा शौच गर्ने गरेको उनले बताइन् । खाने पानी लिन खोलामा जानु पर्ने बाध्यता सुनाइन् । घरसम्म जाने गोरेटो बाटो पनि कतैबाट छैन । खेतका आली र गह्रा हुँदै उनको घरसम्म पुग्नुपर्ने बाध्यता छ ।
उनलाई सबैभन्दा पीडा उनका श्रीमानका हत्याराहरु खुलेयाम गाउँघरमै हिँडिरहेको देख्दा हुन्छ । ‘न न्याय पाइयो, न कुनै क्षतिपूर्ति नै पाइयो,’ रामप्यारीले भनिन् ‘हत्याराहरु गाउँमै मज्जाले बसिरहेका छन् । गरिब र दिन दुःखीको कोही हुने रहेनछ, बाबु ।’ रामप्यारीका अनुसार उनका श्रीमानका हत्याराहरु जेलबाट तीन दिनमै छुटेका थिए । गाउँकै नेताहरुको भनसुनमा उनीहरु छुटेका हुन् ।
श्रीमान रामबहादुरको हत्यापछि उनले कतैबाट कुनै पनि प्रकारको सहयोग नपाएको बताइन् । हेल्पिङ ह्याण्ड तुलसीपुर दाङले गत शनिबार असोज ९ गते मात्रै रामप्यारीको घरमा गएर खाद्यान्न सहयोग गरेको छ । रामप्यारीलाई हालसम्म सहयोग प्रदान गर्ने पहिलो संस्था उही मात्रै हो ।
संस्थाका सचिव प्रमोद आचार्यका अनुसार उनीहरुले झन्डै ४ हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् । त्यसमा दुई बोरा चामल, ८ प्याकेट नुन, ७ प्याकेट खाने तेल र पाँच किलो दाल सहयोग स्वरुप प्रदान गरेको सचिव आचार्यले बताए । उनले थपे ‘उहाँको घरमा टिन लगाउनेबारे सरसल्लाह गरिरहेका छौं ।’
यो सहयोगप्रति रामप्यारी खुसी छिन् । ‘मेरा छोरा नातिनतिना जस्ता आएर मलाई खानेकुरा छोडेर जानु भयो’ उनले भनिन् । रामप्यारीको चाहाना कसैले ढल्न थालेको घर जोगाइदिए हुन्थ्यो भन्ने छ । उनले घरमा जस्तापाता (टिन) लगाउने चाहना व्यक्त गरिन् । ‘घरमा टिन लगाउन सके म बाँच्दासम्म मेरा श्रीमानले बनाइदिएको घरमा बस्न पाउने थिएँ,’ रामप्यारीले भनिन् ।
अर्को उनको चाहना माइती गाउँ जाने छ । त्यहाँ पुगेर आफन्त, दिदीबहिनी भेट्ने उनको चाहना छ । उनलाई प्रिपहवा डाँडो छोडेर अन्त कतै जान मन भने छैन । ‘मेरो श्रीमानको जहाँ प्राण गयो, मेरो पनि त्यही प्राण जाओस् भन्ने म चाहन्छु,’ रामप्यारीले थपिन् ‘म मरेपछि मेरै श्रीमानलाई गाडेको ठाउँमा लगेर गाड्नु भनेर भन्ने छु ।’ (सेतोपाटीबाट)